मन्थली बोक्सेको भिरबाट गाडी खस्दा श्रीमतीको ज्यान गयो, श्रीमान् घाइते

२६ साउन, रामेछाप । मन्थली नगरपालिकाको कुनौरी स्थित बोक्सेको भीरबाट स्करपियो गाडी खस्दा श्रीमान् गम्भीर घाइते भएका छन् । भने, श्रीमतीको ज्यान गएको छ । घाइते श्रीमानलाई काठमाडौँ लगिएको छ । मृतक राधा कार्की मन्थली नगरपालिका वडा नम्बर ७ को शहरी स्वास्थ्य केन्द्र बडिमुहानको ईन्चार्जको रुपमा कार्यरत रहेकी थिइन् ।
आज आइतबार बिहान मन्थलीबाट हेटौँडा तर्फ जाँदै गरेको स्करपियो गाडी मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरमा पर्ने बोक्सेको भीरबाट खस्दा श्रीमती राधा कार्कीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका (डिएसपी) भोला कुमार भट्टले रामेछाप टाइम्सलाई बताए । घटनास्थलबाट रामेछाप टाइम्ससंग बोल्दै (डिएसपी) भट्टले भने ‘भिरबाट गाडी खसेको छ । घाइते श्रीमानको उद्दार गरी काठमाडौँ पठाइएको छ ।’
घाइते हुनेमा मन्थली नगरपालिका वडा नं ११ गेलु नाटिला निवासी उत्तम चौहान रहेका छन् । उनकी श्रीमती राधा कार्कीको भने दुःखद निधन भएको हो । उनीहरू पारिवारिक भेटघाटको लागि हेटौँडा तर्फ गइरहेको बुझिएको छ । श्रीमान् चौहानले चलाएको गाडीमा सवार श्रीमतीको निधन भएको उनको पारिवारिक स्रोतले पनि पुष्टि गरेको छ ।
सडकबाट तामाकोशीमा गाडी खसेको छ । गाडी टुक्रा–टुक्रा अवस्थामा भेटिएको छ ।
घाइते चौहानले प्रहरीलाई बताए अनुसार बा १३ च ३९३४ नम्बरको गाडी पल्टिएको हो । हाल मन्थली १ मा बसोबास गरिरहेका छन् ।