स्थानापति माविमा राजनीति : आफ्नो मान्छे अध्यक्ष बन्ने अवस्था नभएपछि जनप्रतिनिधिले नै हाले भाँजो, ८ महिनादेखि नेतृत्व बिहीन

| साउन ३२, २०८२ शनिबार

A A A
A A A

३१ साउन, रामेछाप । जनप्रतिनिधि र राजनीतिक दलहरूका नेताहरूले आफ्नो स्वार्थ पूरा गर्न कति सम्म गर्छन् भन्ने एउटा उदाहरण बनेको छ पुरानागाउँको स्थानापति मावि । निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो मान्छे विद्यालय व्यवस्थापन समितिमा नअटाउने निश्चित देखेपछि पटक–पटक टुङ्गिन लागेको उक्त विद्यालय व्यवस्थापन समितिलाई विभिन्न बहना बाजिमा भाँजो हाल्दै अड्काउँदै आइरहेको पाइको हो । यसरी भाँजो हाल्नुमा जनप्रतिनिधिलाई रातमा बातै उल्ट्याउन सकिन्छ कि भन्ने नै प्रमुख बिन्दु रहेको स्रोतको बुझाई छ।  

 

गएको पुस अर्थात् ८ महिना देखि विद्यालय व्यवस्थापन समितिको नेतृत्व रिक्त अवस्थामा छ । नियम अनुसार विद्यालयलाई गुणात्मक सुधार र पूर्वाधार विकासमा जोड बल दिन विव्यस अध्यक्षसहितको पूर्ण नेतृत्व आवश्यक पर्छ तर विगतमा रहेको विव्यस नेतृत्वलाई परिवर्तन गरी नयाँ अनुहारहरू त्यहाँ पुग्ने अपेक्षामा देखिएपछि विद्यालय लामो समयदेखि राजनीतिक खिचातानीको केन्द्र बिन्दु बन्न पुगेको हो । ठुलो सुरक्षा घेराका बिच चार जना सदस्यहरू चुनिए पनि पूर्णता भने पाउन नसकेको हो । 

 

स्थानीयहरूका अनुसार स्थानापति माविको विव्यस अध्यक्ष बन्न राजनीतिसँगै जातित्वको प्रभाव समेत प्रस्ट देखिएको छ । तामाङ जातिको बाहुल्यता रहेको मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँमा अवस्थित स्थानापति माविको विव्यस अध्यक्षको लागि तीन जना आकांक्षि रहेका थिए । पहिलो चरणमा भएको विव्य छनोट छलफलले चार जना प्रक्रिया अनुसार नै निर्वाचित भए पनि अध्यक्ष को बन्ने भन्ने विषयले विवाद चर्किँदै जाँदा राजनीतिक र जातित्वको प्रभाव समेत देखिन थालेको हो । 

 

नेतृत्व टुङ्ग्याउने दोस्रो प्रयास स्वरूप ज्येष्ठ सदस्य दिनेश कुमार श्रेष्ठको अध्यक्षमा बसेको बैठकले स्थानीय युवा एवं व्यवसायी कृष्ण श्रेष्ठलाई विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बनाउने बहुमतको समर्थनमा निर्णय गर्‍यो तर नगरपालिकाले त्यहाँका निर्वाचित जनप्रतिनिधिहरूको हस्ताक्षर नभएको भन्दै उक्त निर्णयलाई अस्वीकार गर्दै पुनः विव्यस अध्यक्ष प्रक्रिया अनुसार टुङ्ग्याउनु पर्ने धारणा सहित आफूहरूलाई जानकारी प्राप्त भएको विव्य समितिका सदस्य सचिव समेत रहेका विद्यालयका प्रअ शम्बु मण्डलले रामेछाप टाइम्सलाई बताए ।‘बहुमतले निर्णय गर्‍यो तर नगरपालिकाले जनप्रतिनिधिको हस्ताक्षर रहेनछ भनेर स्वीकार गरेन ।’

 

यसरी बहुमतले गरेको निर्णय अस्वीकार गर्नुमा नगरपालिकाले राजनीति रंग प्रस्ट देखाएको वडाका जानकारहरूको धारणा छ । एउटा विद्यालयमा हदै सम्मको राजनीति भइरहेकोमा गुनासो गर्दै एक स्थानीयले भने ‘त्यो त सरासर राजनीति गरेको हो नि । लामो समय होल्डमा राखे अनि पछि जनप्रतिनिधिको हस्ताक्षर छै...न् भन्दै त्यस्तो गर्न पाइन्छ बहुमतले गरेको निर्णय ।’

 

नगरपालिकाको शिक्षा शाखाले समेत विव्यस समिति टुङ्ग्याउन विभिन्न बहना गर्ने गरेको सुनाउँदै ती स्थानीय भन्छन् ‘आफ्नो मान्छे अध्यक्ष नहुने पक्का भएपछि नगरै लागेको हो ।’

 

पछिल्लो समय ज्येष्ठ सदस्य धनबहादुर तामाङको अध्यक्षतामा विद्यालयको गतिविधि सञ्चालन हुँदै आइरहेको छ तर, विद्यालयको नेतृत्व विधि र प्रक्रिया अनुसार नटुङ्गिँदा विद्यालय नेतृत्व विहीन जस्तै बन्न पुगेको छ । जसको असर र प्रभाव विद्यालयको सर्वत्र क्षेत्रमा परेको छ । 

 

निर्वाचित जनप्रतिनिधिले नै आफ्नो मान्छे विव्यस अध्यक्षको कुर्सिमा नआउने निश्चित भएपछि विद्यालयमा पढिरहेका विद्यार्थीलाई निकालेर तालाबन्दी समेत गरिएको यो विद्यालयमा ८ महिना देखि अध्यक्ष कसरी टुङ्ग्याउने भन्ने अन्योलमै बितेको हो । 

 

केही जनप्रतिनिधिहरू विगतकै विव्यस अध्यक्ष समेत रहेका कर्मान तामाङलाई नेतृत्वमा दोहोर्‍याएर आफ्नो दुनो सोझ्याउने खेलमा लागि परेपछि शिक्षक र विद्यार्थीहरूले समेत नरुचाएका तामाङलाई नेतृत्वमा ल्याउनुको सट्टा ज्येष्ठ सदस्य कै अध्यक्षतामा चल्ने बाध्यतामा परेका हुन् ।