मन्थली कुनौरीमा सिमेन्ट बोकेको लरी दुर्घटना, चालक घाइते

०६ भदौ, रामेछाप । रामेछाप मन्थलीको कुनौरीमा मालवाहक गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परी चालक घाइते भएका छन् ।
घाइते हुनेमा लरिका चालक नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं ७ सिखरबेसी बस्ने ४४ वर्षीय प्रवास ओली रहेका छन् । घाइते चालक ओलीको उद्धार गरी उपचारको लागि मन्थली अस्पताल पठाइएको छ । उनी बोल्न सक्ने (सामान्य) अवस्थामा रहेको प्रहरीको भनाई छ।
निर्माणाधीन सुनकोशी मरिण डाइभर्सनको सिमेन्ट बोकेर सित्खा हुँदै मन्थली बाट आयोजना स्थल तर्फ जाँदै गरेको बागमती प्रदेश ३०१००३ क ५६४४ नम्बर लहरी मन्थली नगरपालिकाको कुनौरीमा सडकबाट तल झरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता कौशल न्यौपानेले रामेछाप टाइम्सलाई बताए ।
‘सुनकोशी मरिण डाइभर्सनको सिमेन्ट बोकेको लरी सडकबाट तल खसेको छ’, के कारणले भयो भन्नेमा हामी बुझिरहेका छौँ, प्रहरी निरीक्षक न्यौपानेले भने ।
शुक्रबार आज बिहानै उक्त लरी पल्टिएको हो ।