रामेछाप कोलोन्जोरघाटबाट ६ वर्षीय बालक २ हप्ता देखि बेपत्ता

७ भदौ, रामेछाप । जिल्ला रामेछाप नगरपालिका वडा नं ५, रामपुरको कोलन्जोर घाटबाट दुई सातादेखि एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही ठाउँका ६ वर्षीय बालक सलिन माझी रहेका छन् ।
बेपत्ता बालकलाई केही महिलाहरूले ‘तन्तर मन्तर’ गरी चोरी गरेको हुन सक्ने परिवारले आशङ्का गरेको बेपत्ता बालकका बुबा श्यामबहादुर माझीले रामेछाप टाइम्सलाई बताए । ‘तीन जना बच्चा पक्की पुल मुनी खेलिरहेको बेलामा एक्कासी बच्चा बेपत्ता भएको हो’, अरू बच्चासँगै खेल्दै गरेको बच्चा कपडा र चप्पल त्यही राखेर सम्पर्कमा नआएपछि हल्लीखल्ली गरेर खोज्न थालेपछि कपडा पनि त्यहाँ नभएको कारण बच्चा सुनकोशीमा नबगेको र जीवित कसैले लगेको हाम्रो ठम्याइ हो’, सशस्त्र प्रहरी बलमा कार्यरत बच्चाका बुबा श्यामबहादुरले भने ।
बेपत्ता बच्चासहित आफ्ना तीनभाइ छोरा रहेको बताउँदै १२ दिन देखि कान्छो छोरो सलिन हराएर परिवारमा बज्रपात परेको दुखेसो गरे ।
शनिवारको दिन साथीहरूसँगै खेल्दै गर्दा बच्चा बेपत्ता भएपछि आफूहरूले सिन्धुलीको फिकल्ल गाउँपालिकाको तीन खण्डे सम्म गोताखोरसहितको टोली समेतले खोजी गरेको सुनाउँदै सुनकोशीमा डुबेको आशङ्कामा उदयपुर सम्म कोसी किनारै किनार खोजी गरेको जानकारी गराए ।
रामेछाप र सिन्धुली दुवै जिल्लाका प्रहरीमा बालकको खोजी गरिदिन अपिल गरिए पनि सम्बन्धित कार्यालयहरूबाट गम्भीरता पूर्वक काम नभएको महसुस गर्नु परेको श्यामबहादुरको भनाई छ ।