काँग्रेस रामेछापले भन्यो ‘विषम परिस्थितिमा छौँ, सभा–जुलुस, र्याली र समाज भड्किने कुनै पनि गतिविधि नगर्नू’

२९ भदौ, रामेछाप । नेपाली काँग्रेस रामेछापले देशको पछिल्लो परिस्थिति बारेमा चिन्ता व्यक्त गर्दै कार्यकर्ताहरूलाई सचेत र सजग रहँदै समाज भड्किने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ । उसले अर्को सूचना नआउँदा सम्मको लागि सामाजिक संजालमा जथाभाबी पोष्ट गरेर समाज नभड्काउन कार्यकर्तालाई सचेत गराएको हो ।
आइतबार पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले एक प्रेस विज्ञप्ति जारी गरी सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको जर्गेना गर्न जिल्ला भित्र कुनै पनि नारा जुलुस सभा, र्याली समेत नगर्न आग्रह गर्दै सामाजिक सञ्जाल मार्फत कुनै पनि सद्भाव भड्कने खालका पोष्ट नगर्न आग्रह गरेका हुन् ।
पार्टी सभापति तामाङले गएको भदौ २३ र २४ गते ‘जेन्जी’ युवाले गरेको आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । उसले जेन्जी आन्दोलनमा ठुलो जनधनको क्षति भएको भन्दै चिन्ता व्यक्त गरेको पार्टी सभापति कान्छारामले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
संघीय संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार, राष्ट्रपति कार्यालय, संवैधानिक निकाय लगायत नेपाली काँग्रेस केन्द्रीय कार्यालय, ऐतिहासिक सम्पदासहित ध्वस्त पारिएका सरकारी तथा गैर–सरकारी संघ संस्था तथा व्यक्तिगत धनजनको ठूलोक्षति प्रति दुःख व्यक्त गर्दै नेपाली काँग्रेस रामेछापले ‘नेपालको संविधान २०७२ सङ्कटको अवस्थामा छ’ भनेको छ । सार्वजनिक सम्पत्ति ध्वस्त पारिएकोमा काँग्रेस रामेछापले दुःख व्यक्त गरेको हो ।
यस्तो विषम परिस्थितिमा जिल्ला बासी आम नागरिकहरूले सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको जर्गेना गरी लोकतन्त्र, लोकतान्त्रिक संविधानको संरक्षण गर्न अपिल समेत गरेको छ ।