रामेछापमा संविधान दिवस भव्य रूपमा मनाइँदै : र्‍याली र संविधानको रक्षाको लागि अन्तरक्रिया

| असोज १, २०८२ बुधबार

फाइल फोटो ।
A A A
A A A

१ असोज, रामेछाप । रामेछापमा १० औँ संविधान दिवस भव्यताको साथ मनाइने भएको छ । जिल्ला समन्वय समिति रामेछापको मूल समारोह एवं अग्रसरतामा ‘सङ्कट ग्रस्त संविधान’ दिवसलाई भव्य रूपमा मनाउँदै त्यसको संरक्षणमा बल पुर्‍याउने निर्णय गरेको हो । 

 

मंगलबार जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का (कार्की), मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय रामेछापका प्रतिनिधि, उपप्रमुख प्रेम सागर थापा, समन्वय अधिकारी हरि कृष्ण फुयाँलसहित जिल्लाका सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयहरू समेतको सहभागितामा गरिएको छलफलमा संविधान दिवस २०८२ लाई भव्य रूपमा मनाउँदै जेन्जी आन्दोलनमा मृत्यु वरण गरेकाहरूको आत्माको चीर शान्तिको कामना गर्ने र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति रामेछापले जनाएको हो । 

सरोकारवालाहरूको बैठकले देशको मूल कानुन संविधानलाई रक्षा गर्दै यसको दिगो र सही कार्यान्वयनको लागि आ–आफ्नो ठाउँबाट अति नै महत्त्वपूर्ण रहेको समेत बैठकमा धारणा राखे हुन् । 

 

भोलि असोज २ गते देखि नै संविधान दिवसलाई भव्य रूपमा मनाउन आम जिल्ला बासीलाई समेत आग्रह गर्दै सबै राजनैतिक दल, सरकारी कार्यालय, संघ संस्था, कलेज, विद्यालयमा राष्ट्रिय झन्डा नयाँ राख्ने, २ देखि ४ गते सम्म सबै कार्यालय र  सर्व साधारणका घरमा समेत दीप प्रज्वलन गरी संविधानलाई दीपावलीको रूपमा अगाडि सार्ने निर्णय गरिएको जिल्ला समन्वय समिति रामेछापका सूचना अधिकारी एवं इन्जिनियर राजनिश पाण्डेयले जानकारी दिए । 

 

उनका अनुसार तीन दिन सम्म सार्वजनिक स्थलहरूको सरसफाइ गर्ने देखि संविधान दिवसको प्रमुख दिन असोज ३ गते बिहान ७ः०० बजे मन्थली मदन आश्रित चोकदेखि कटहर बोट हुँदै (जिसस) सम्म र्‍याली गरिने भएको छ । 

 

सो र्‍यालीपछि संविधानमा उल्लेखित भएका व्यवस्थाको कार्यान्वयनको लागि सरोकारवालाबिच अन्तरक्रिया गरिने भएको छ । साथै, अस्पतालमा भर्ना भएर उपचार गराइरहेका बिरामीलाई फलफूल वितरण पनि गर्ने तयारी भइरहेको जिसस रामेछापले बताएको छ । त्यसको लागि तयारी तीव्र पारिएको समन्वय रामेछापले जनाएको हो ।