बीपी राजमार्गको विकल्प : खुर्कोट–मन्थली–चरिकोट हुँदै यसरी पुगिन्छ काठमाडौँ

आइतबारै चरिकोटबाट सबै गाडी काठमाडौं पठाइए

| असोज १९, २०८२ आइतबार

शनिबार साँझ चरिकोटमा रोकिएका सवारीको लाइन् । तस्बिर स्रोत सामाजिक संजाल ।
A A A
A A A

१९ असोज, रामेछाप । केही दिन यताको निरन्तरको वर्षाले गत वर्षझैँ रोशी खोलाको बाढीले बिपी राजमार्ग बगाएपछि बीपी राजमार्गको विकल्पमा पुष्पलाल र अरनिको राजमार्ग वैकल्पिक सडक बनेका छन् । सिन्धुलीको खुर्कोटबाट रामेछापको मन्थली–खिम्ती हुँदै दोलखाको मिल्ती–तामाकोशी–चरिकोट हुँदै खाडिचौर मार्फत अरनिको राजमार्ग भएर काठमाडौँ जान सकिने अवस्था छ । यी सडकहरूमा भएका स–साना अवरोधहरू हटाएर आजै देखि सवारी सञ्चालन समेत भइरहेको छन् ।  

 

बीपी राजमार्गको खुर्कोट हुँदै रामेछापको मन्थली–खिम्ती–मिल्ती– तामाकोशी–चरिकोट (दोलखा) हुँदै अरनिको राजमार्गको खडीचौर जोडिएर भएर काठमाडौँ पुग्न सकिन्छ । तत्कालको लागि यो सडकमा साना गाडीहरूको लागि सहज रहेको यात्रुहरूको भनाई छ । सोलुखुम्बुको गोली, चम्लाखर्च लगाएत रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाका गाडीहरु दोलखाको जिरी हुँदै पनि उपत्यका भित्रि रहेका छन् ।

 

शनिवारै देखि पूर्वबाट काठमाडौँका लागि छुटेका गाडी यही सडक भएर काठमाडौँ भित्रिन थालिसकेका छन् । बीपी राजमार्गमा रोशी खोलाको कटानले अवरुद्ध बनेपछि वैकल्पिक सडकको रूपमा पूर्वी झापादेखि, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुली लगायतका सवारीहरू रामेछापको मन्थली हुँदै दोलखाको चरिकोटबाट राजधानी प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख ज्ञानकुमार महतोले जानकारी दिए । उपत्यका जान पुष्पलाल राजमार्ग प्रयोग गर्न थालेपछि सवारी चाप बढेको र चाप व्यवस्थापन गर्न राजमार्गका ठाउँ–ठाउँमा प्रहरी परिचालन गरिएको दोलखाका प्रहरी प्रमुख महतोको भनाइ छ ।

शनिबार साँझ चरिकोट दोलखामा प्रहरीले बार लगाएर रोकेका गाडी । तस्बिर स्रोत सामाजिक संजाल । 

 

पुष्पलाल राजमार्ग अन्तर्गत दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोट, कालीदहमा गएराति सडक भासिएको थियो । सो सडक आइतबार खुलाइएपछि अहिले एकतर्फी सवारी आवागमन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

 

बीपी राजमार्ग अवरुद्ध भएर खुर्कोट–मन्थली हुँदै चरिकोटबाट उपत्यका जान थालेपछि सडकको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापले रातिको समयमा खुर्कोट–मन्थली–खिम्ती–मिल्ती सडक खण्डमा सवारी चलाउन रोक लगाएको छ । भने, खुर्कोट पुलमा एक पटकमा एउटा मात्रै सवारी पास गर्न व्यवस्था मिलाएको छ । 

मिलन घिमिरे (बि क)
| असोज २१, २०८२ मंगलबार