रामेछापका ११ वटा सरकारी कार्यालयमा प्रशासनको छड्के अनुगमनः ‘करारका कर्मचारी सम्झौतै नगरी काम गरेको भेटियो’

२२ असोज, रामेछाप । दशैं बिदा र मौसममा देखिएको खराबीपछि सुधारको संकेत देखिए लगत्तै कार्यालय खोल्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाका सरकारी कार्यालयहरूमा छड्के अनुगमन गरेको छ । बुधवार मन्थली स्थित ११ वटा सरकारी कार्यालयको अनुगमन गर्दै आज सम्म पनि हाजिर नभएका कर्मचारीलाई तत्काल कार्यालय आउने निर्देशन दिएको हो ।
वार्षिक त्रैमासिक रूपमा अनुगमन गर्ने प्रशासनको कार्यपालिका अनुसार बुधवार बिहान कार्यालय समयमा प्रशासनको टोली मालपोत, नापी, उद्योग तथा वाणिज्य, शिक्षा विकास तथा समन्वय इकाई, कृषि विकास, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, नेपाल विद्युत् वितरण केन्द्र मन्थली, हुलाक, जलस्रोत तथा सिँचाइ, संघीय खानेपानी तथा ढल आयोजना र सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयको छड्के अनुगमन गरिएको प्रशासनका (नासु) लक्ष्मण भुजेलले रामेछाप टाइम्सलाई बताए । ‘सबै कार्यालय जाँदा सघीय खानेपानी, जलस्रोत तथा सिँचाइ र सघन शहरी बाहेक सबै कार्यालयका प्रमुखसहित कर्मचारी भेटिए’, यी तीन कार्यालयका प्रमुखहरू बाटोमा आउँदै गरेको जानकारी पाएको सुनाउँदै नासु भुजेलले भने ‘यो विपद्को बेलामा गाडीहरू नलगेकाले आउन ढिला भएछ ।’
भुजेलका अनुसार दशैंमा बिदा जाँदा यो पटक कर्मचारीहरूले गाडी नलगी विपद्को लागि तयारी अवस्थामा राखेकाले कर्मचारीहरू आउन ढिला गरेका हुन् । सोमबारदेखि नै सबै कार्यालयहरू खोलेर प्रशासनिक कार्य धमाधम भइरहेका बेला ठुला र महत्त्वपूर्ण आयोजना सञ्चालन गर्ने ‘विकासे अड्डा’हरूका कार्यालय प्रमुख भने आज मात्रै आउन लागेको पाइएको हो ।
त्यस्तै, अनुगमनका क्रममा प्रशासनको टोलीले सघन शहरी तथा भवन निर्माण आयोजनामा कार्यरत करारका कर्मचारी (७–८) जनाको हाल सम्म करार सम्झौता नभई काम गरेको समेत फेला परेको जनाएको हो । ‘यो कार्यालयमा ७÷८ जना करारका कर्मचारीको करार सम्झौता भएको रहेनछ । त्यसैले कोही आएर बसेका छन्’, सम्झौता नभए पनि केही कर्मचारीहरू कार्यालय आएको भेटिएको सुनाउँदै नासु भुजेलले भने ‘कोही आउँदा रहेछन् । कोही नआउने । करार सम्झौता नहुँदा यस्तै रहेछ ।’