रामेछापको रजगाउँमा सुमो दुर्घटना : ७ जना घाइते
तस्बिर स्रोत सामाजिक संजाल ।
०५ मंसिर, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका स्थित रजगाउँमा यात्रु वाहक टाटा सुमो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेहरूको उद्दार गरी मन्थली अस्पतालमा उपचार जारी छ । १ जना भने सामान्य घाइते भएका छन् ।
शुक्रवार अपरान्ह्व करिब ४ः४५ बजेको समयमा रजगाउँबाट मन्थली तर्फ आउँदै गरेको ना १ ज ५५५८ नम्बरको टाटा सुमो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । ‘८ जना सवार गाडी एक्कासि पल्टिएर ७ जना घाइते भएको र उनीहरूको उद्दार गरी मन्थली अस्पतालमा उपचार भइरहेको छ’, प्रहरीका सूचना अधिकारी राजन प्रसाद तिम्सिनाले रामेछाप टाइम्ससंग भने ।
दुर्घटनामा परेको सुमो सडकबाट करिब १०० मिटर तल खसेको छ । के कारणले सुमो पल्टियो र दुर्घटनामा परेका को–को हुन् भने बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता तिम्सिनाको भनाई छ ।
