रजगाउँमा भएको सुमो दुर्घटनामा परेका दुई महिलाको मृत्यु, चालकको पनि अवस्था चिन्ता जनक
फाइल फाेटाे
०६ मंसिर, रामेछाप । शुक्रवार अपराह्न रामेछापको रजगाउँमा भएको टाटा सुमो दुर्घटनामा परेको ८ जना मध्ये दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका चालकको अवस्था पनि चिन्ता जनक रहेको जानकारी प्राप्त भएको छ ।
शुक्रवार खाँडादेवी गाउँपालिका वडा नं ४ पकरबासको रजगाउँबाट मन्थली तर्फ आउँदै गरेको ना १ ज ५५५८ नम्बरको यात्रु बाहक टाटा सुमो दुर्घटना हुँदा गाडीमा सवार ८ जना मध्ये ७ जना दुर्घटनामा परेका थिए । एक जना सामान्य अवस्थामै थिए ।
दुर्घटनामा परि सुरुमा सामान्य अवस्थामै रहेकी मन्थली नगरपालिका–३ निवासी ५३ वर्षीय गीतामाया जोगीको मन्थली अस्पतालमै उपचारको क्रममा अच्चानक मृत्यु भएपछि राति नै एम्बुलेन्स मार्फत सातै जनालाई काठमाडौँ पठाइएको थियो । सो क्रममा काठमाडौँ अस्पतालमा पुर्याएपछि मन्थली नगरपालिका–२ निवासी ६७ वर्षीय हितकुमारीलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । उनलाई बि एण्ड बि अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको मन्थली नगरका एम्बुलेन्स चालकले बताए ।
शनिवार उपचाररत टिचिङ अस्पतालबाट १ जना र ट्रमा बाट १ जना गरी दुई जना डिस्चार्ज भएर घर फर्किएका छन् । भने, ट्रमा सेन्टरमा उपचाररत २ जना, केएमसीमा १ जना र अन्न पूर्ण न्यूरोमा १ जनाको उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख भोला कुमार भट्टले रामेछाप टाइम्सलाई बताए ।
अहिले ४९ वर्षीय चालक रमेश बुढाथोकीको अवस्था केही चिन्ताजनक रहेको र बाँकी मध्यम अवस्थाका रहेको प्रहरीको भनाई छ ।
