मन्थली नगरको रनिङ शिल्डः लगातार ८ औँ पटक मन्थली माविले जित्यो, यी चार माविको नजिता भने ‘शून्य’

| मंसिर ७, २०८२ शनिबार

A A A
A A A

०६ मंसिर, रामेछाप । लगातार ८ औँ पटक मन्थली माविले ‘नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’को उपाधि जितेको छ । उसले १९ वटा सार्वजनिक तथा संस्थागत माविहरूलाई पछि पार्दै ८ औँ पटक निरन्तर उपाधि हात पारेको हो । 

 

गएको बिहीबार देखि उसैको मैदानमा भएको विभिन्न विधाका खेलमा ३४ वटा स्वर्णसहित कूल ८० पदक जितेर इतिहास रचेको हो । त्यस्तै लगार जस्तै दोस्रो बनिरहेको तामाकोशी बोर्डिङ यो पटक पनि दोस्रो स्थानमै रोकिएको छ । उसको प्रथम हुँदै शिल्ड चुम्ने अवसर सफल हुन नसकेको हो ।  

 

६६ स्वर्ण पदकको लागि १४ वटा वडाका २० वटा माविका छात्रा छात्रले प्रतिस्पर्धा गरेका थिए । जसमा मन्थली माविले आफ्नो दबदबा कायम गरेको हो । दुई वटा राष्ट्रपति रनिङ शिल्ड पञ्च गरेको सुनाउँदै मन्थली माविका प्रधानाध्यापक टंकप्रसाद दाहालले भने ‘दुई वटा हामीले पञ्च गरी सक्यौँ, अर्को साल एउटा जितेपछि यो पनि हामीले राख्छौँ ।’

 

विद्यार्थीहरू बिच रहेको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गर्नका निम्ति खेलकुदका कार्यक्रम अन्तर्गत वार्षिक रूपमा सञ्चालन हुँदै आएको रनिङ शिल्डमा निजी क्षेत्रको तामाकोशी बोर्डिङ स्कूल लगातार चौथो पटक दोस्रो नै बनेको छ । ‘खेलमा प्रतिस्पर्धा गर्दा त फस्ट हुने नै लक्ष्य हो तर हाल सम्म पूरा हुन सकेको छैन’ तामाकोसी बोर्डिङका प्रअ दीपक खड्काले रामेछाप टाइम्ससंग भने ‘हेर्दै जाऊँ आगामी वर्ष ।’

विजेता खेलाडीहरूलाई मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, मन्थलीमा माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार श्रेष्ठसहितले संयुक्त रूपमा नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे ।

 

विजेता मन्थली माविले नगद ४० हजारसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । ११ वटा स्वर्णसहित १४ रजत र १६ कांस्य गरी ४१ पदक जितेको तामाकोशी बोर्डिङ स्कूलले नगद २५ हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । 

 

विगतका वर्षको तुलनामा पुरस्कार राशि समेत बढेको ८ औँ राष्ट्रपति रनिङ शिल्डमा तेस्रो बनेको कर्कला देवी बोर्डिङ स्कूल (केब्स) ले नगद १५ हजारसहित पुरस्कार हात पर्दा मन्थली बजार भन्दा बाहिरबाट समेत आफ्नो उपस्थिति बढाएको निलकण्ठेश्वर मावि कठजोरले नगद ५ हजारसहित सान्त्वना पुरस्कारमा चित्त बुझाएको छ । 

 

केब्सले ७ स्वर्ण, ३ रजत र ६ कास्य गरी कूल १६ वटा पदक जितेर तेस्रो बन्दा ४ स्वर्ण, ७ रजत र ५ काश्यसहित १६ पदक जितेर निलकण्ठेश्वर सान्त्वना बनेको हो ।

 

स्वर्ण र रजत पदक बाहेक कास्य पदकमा अन्य विद्यालयका छात्रा छात्रले प्रतिस्पर्धा गर्दा ४ वटा माविले भने खातै खोल्न सकेनन् । अर्थात् शून्य पदक जिते । 

 

६६ स्वर्ण, ६६ रजत र ७९ काश्यसहित २११ पदकको लागि भएको प्रतिस्पर्धामा मन्थली नगरपालिका वडा नं १४ को कालीदेवी मावि र बौद्ध मावि, वडा नं १२ गेलुको शारदा मावि र वडा नं १० चनखुको  सरस्वती माविले १ पदक पनि जित्न नसकेको हो । 

 

यो हर्नुहोस् कुन विद्यालयले कति पटक जिते ?