रामेछापमा एमालेले थाल्यो सहमतिबाटै प्रतिनिधि छनोटको प्रकृयाः इन्चार्जको संयोजकत्वमा कमिटी गठन, यसरी छानिँदैछन् १२ प्रतिनिधि ?

| मंसिर १२, २०८२ बिहिबार

A A A
A A A

११ मंसिर, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापले राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन सर्व सहमतिमै टुङ्ग्याउने गरी तयारी अगाडि बढाएको छ । त्यसको लागि जिल्ला इन्चार्ज एवं पार्टी पोलिट ब्युरो सदस्य कमल चौलागाईको संयोजकत्वमा ९ सदस्यीय कमिटी समेत गठन गरेको छ । गठित कमिटीको पहिलो बैठक भोलि मन्थलीमा बसेर सहमतिको कार्य अगाडि बढाउने निश्चित भएको छ । योसँगै आउँदो शनिबार हुने भनिएको एमालेको प्रतिनिधि छनोटको मतदान भने नहुने निश्चित भएको छ । 

बिहीबार यो समाचार तयार पार्दा सम्म उम्मेद्वारी दर्ता गराएका कसैले पनि उम्मेद्वारी फिर्ता नगरेको र १४ गते सर्वसहमतिले नटुङ्ग्उँदा सम्म कसैले फिर्ता लिन चाहेमा आफ्नो उम्मेद्वारी फिर्ता लिन सकिने गरी सूचना सार्वजनिक भइसकेको पत्रकार समेत रहेका उक्त निर्वाचन कमिटी अध्यक्ष नवराज पथिकले बताए । 

 

कूल १२ पदको लागि ६७ जनाको उम्मेद्वारी दर्ता गरिएको प्रतिनिधि छनोटको लागि आकांक्षिको संख्या व्यापक भएको, आकांक्षि बढ्दा निर्वाचन थप खर्चिलो हुने सम्भावना बढेपछि सहमतिमै टुङ्ग्याएर अगाडि जानु पर्नेमा नेताहरूले जोड् दिएका हुन् । सोही अनुसार गत मंगलबार उम्मेद्वारी दर्ता गएपछि मतदानबाटै प्रतिनिधि छनोट गर्ने स्थितिलाई कमजोर पारी इन्चार्ज चौलागाईको संयोजकत्वमा प्रदेश कमिटीका अध्यक्ष समेत रहेका कैलाश ढुङ्गेल, केन्द्रीय सदस्यद्वय माधव ढुङ्गेल र गीता कार्की, प्रदेश कमिटी सदस्य शान्ति प्रसाद पौडेल र आनन्द कुमार श्रेष्ठ, जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरिया, उपाध्यक्ष होतराज ढकाल र सचिव प्रकाश कुमार कार्की सदस्य रहने गरी ‘सर्वसहमतिमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि’ चयन कमिटी गठन गरिएको जिल्ला कमिटी अध्यक्ष कडरियाले रामेछाप टाइ्म्सलाई बताए । ‘इन्चार्जको संयोजकत्वमा बनेको यस कमिटीले सर्वसहमतिमै १२ जना प्रतिनिधि छनोट गर्नेछ’, यो कमिटीले गरेको निर्णय सबैले मान्छौँ भन्ने एकखालको सहमति गरेपछि कमिटी गठन गरिएको सुनाउँदै अध्यक्ष कडरियाले भने ‘सबै कलस्टरहरुसंग छुट्टा–छुट्टै बैठक बसेर निर्णय गर्छौँ र टुङ्ग्याउने छौँ ।’

 

उनका अनुसार उक्त कमिटीले गरेको निर्णय उम्मेद्वारी दर्ता गरेका उम्मेद्वारहरुले स्विकार्न सहमति दिएपछि कमिटी बनेको हो । 

आउँदो मंसिर २७ देखि २९ गते सम्म काठमाडौँमा सम्पन्न हुने राष्ट्रिय महाधिवेशनमा उम्मेद्वार बन्नको लागि जिल्लास्तरबाट प्रतिनिधि चयन भएकाहरूले प्रतिस्पर्धा गर्न पाउने भएकाले यसमा नेताहरूको प्रतिस्पर्धा चर्कोछ । उच्च स्रोतका अनुसार सोही परिस्थितिलाई ध्यानमा राखेर सर्वसहमतिमा प्रतिनिधि छनोट कमिटी गठन गर्दा समेत  नेता कार्यकर्ताले ‘गठित समितिमा’ बस्नेहरू आफै प्रतिनिधि बन्न नपाउने नियम लागू गर्नु पर्ने विषयमा आवाज उठाएका छन् । 

यस विषयमा रामेछाप टाइम्सले गरेको प्रश्नबारे प्रष्ट पार्दै अध्यक्ष कडरियाले भने ‘त्यो विषयमा जिम्मेवारीमा बसेका नेताहरूले यहाँको वस्तुस्थितिलाई हेरेर निर्णय गर्छौँ ।’

 

इन्चार्ज चौलागाई बिहीबार सम्म जिल्ला बाहिरै हेकाले शुक्रवार बिहान उनी आए लगत्तै बैठक बसेर गठित कमिटीले सहमतिको प्रयास थाल्ने छ। यसअगाडि मतदान नै हुने भएपछि कार्यकर्ता विभाजित हुने परिस्थिति निर्माण हुने सम्भावनालाई मध्यनजर गरी नेताहरूले सहमतिको प्रयास अगाडि बढाएका हुन् । 

 

१२ जना मध्ये ६ जना खुल्लाबाट, महिलाबाट ४, युवा र उत्पीडित तर्फबाट १–१ जना निर्वाचित हुनु पर्ने छ । ‘निर्वाचन भए खर्च गर्न सक्नेले चुनाव जित्ने र खर्चिलो समेत हुने सम्भावना देखिएपछि सहमतिको कार्य अगाडि बढेको हो’, एक नेताले प्रष्ट शब्दमा भने ।

 

गठित समितिले भूगोल, विगतका महाधिवेशनमा प्रतिनिधि नबनेका, कार्यकारी (दोहोरो) भूमिकामा नरहेका र अवसर नपाएका नेताहरूलाई समेट्ने गरी सहमतिको प्रयास थाल्न सक्ने कार्यकर्ताहरूले आंकालन गरेका छन् । 

 

केन्द्रमा प्रष्ट केपी ओली र विद्यादेवी भण्डारीको गुट छुट्टिँदा जिल्ला स्तरमा पनि प्रतिनिधि छनोट प्रक्रिया देखि नै त्यसको प्रभाव पर्न सक्ने राजनीतिक विषलेशकहरु बताउँछन् । यद्दयपी जिल्लामा पार्टी एक ढिक्का रहेको र गुटउपगुट नरहेको यहाँका नेताहरूको दाबी छ । 

 

प्रतिनिधि छनोटमा गुटउपगु बलियो देखिएमा त्यसको प्रभाव एमालेको राष्ट्रिय महाधिवेशनमा समेत पर्ने छ । भने त्यसले केन्द्रिय नेतृत्वदेखि देशको राजनीतिक कोर्स नै फेर्न भूमिका खेल्न सक्छ । 

 

यो हेर्नुहोस् उम्मेद्वारी दिएकाहरुको नामावलीसहितको विवरण