शारदा मावि ठोसेले जित्यो छैटौँ गोकुलगंगा गाउँपालिकाको रनिङ शिल्ड
२१ मंसिर, रामेछाप । गोकुलगंगा गाउँपालिकाद्वारा आयोजित छैटौँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नं २ स्थित शारदा मावि ठोसेले उचालेको छ । उसले वडा नं ३ रस्नालु स्थित गोकुलगंगा माविलाई पछि पार्दै उपाधि हात पारेको हो ।
आइतबार वडा नं ५ नामाडीको खेलमैदानमा सम्पन्न प्रतियोगितामा ८ स्वर्ण, ७ रजत, ५ कास्यसहित कूल २० पदक जित्दै गोकुलगंगाले उपाधि हात पारेको शिक्षिका सरिता खड्काले रामेछाप टाइम्सलाई बताइन् । उनका अनुसार वडा नं ३ को गोकुलगंगा माविले ८ स्वर्ण, ५ रजत, ९ कांस्यसहित २२ पदक जितेर दोस्रो भएको छ । उसले रजत पदक कम जित्दै शारदा माविलाई निकै ठुलो फाइदा पुगेको हो ।

विजेता खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले उपाध्यक्ष उषादेवी कार्की (बस्नेत)सहितको उपस्थितिमा शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरे ।
कूल ३९ वटा स्वर्ण पदकको लागि ६ वटा वडाका ७ वटा माविका २५८ जना छात्रछात्राले विभिन्न विधाका खेलमा प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगितामा वडा नं ४ बेतालीको जनजागृति मावि ७ स्वर्ण, ८ रजतसहित तेस्रो बनेको छ ।
