एमाले केन्द्रीय सदस्यमा रामेछापका ढुङ्गेल र कार्की विजयी, ३ जना पराजित
०३ मंसिर, रामेछाप । नेकपा (एमाले) को केन्द्रीय सदस्यमा रामेछापका दुई जना निर्वाचित भएका छन् । जिल्लाका ५ जनाले उम्मेद्वारी दिएका मध्ये यो समाचार तयार पार्दा सम्म दुई जना विजयी भएका हुन् ।
बिहीबार सम्पन्न एमालेको ११ औँ केन्द्रीय महाधिवेशनमा उम्मेद्वारी दिएका खाँडादेवी गाउँपालिका निवासी युवा नेता माधव ढुङ्गेल र मन्थली नगरपालिका–५ की गीता कार्की केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचित भएका ढुङ्गेलले १२९९ र कार्कीले १७४८ मत प्राप्त गरेको एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले बताए । ढुङ्गेल यस अगाडि पनि पार्टीको माथि निकायमा काम गर्दै आएका थिए भने कार्की केन्द्रीय सदस्य थिए ।
उम्मेद्वारी दर्ता गरेका प्रदेशका पूर्व सांसद समेत रहेका नेता शान्ति प्रसाद पौडेल, नेतृ गंगा कार्की र सीता केसी भने पराजित भएका छन् ।
