इटाली पठाइदिन्छु भन्दै उमाकुण्डका सौगात सुनुवारसहित तीन जनाबाट १०-१० लाख ठग्ने रेग्मी पक्राउ

| असार १६, २०७८ बुधबार

संकेतिक फोटो
A A A
A A A

१६ असार, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ कुबुँकाँस्थलीका एक युवासहित तीन जनासंग इटाली पठाइदिन्छु भन्दै ३१ लाख ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

 


पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–७ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ३६ वर्षीय उमेश रेग्मी रहेका छन् । 

 

उनले रामेछाप कुबुकास्थलीका सौगात सुनुवार लगायत तीन जनालाई वर्किङ भिषामा इटाली पठाइदिने प्रलोभनमा पारी प्रतिव्यक्ति १० लाख ५० हजार रुपैयाँको दरले पैसा लुटेका हुन् । ३१ लाख ५० हजार रुपैयाँ लिएर ठगी गरेको अभियोग लागेको प्रहरीले जनाएको छ । 

 

इटाली पठाइदिने भनेर रकम लिई तीनै जनालाई अजरबैजानसम्म पुर्यापएर बिचल्ली बनाएर फरार भएका उमेशलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर टिकाथलीबाट पक्राउ गरेको हो ।

 

उनले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा युरोपेली मुलुकमा पठाइदिन्छु भनी प्रलोभनमा पारी एक करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेका उमेशलाई आवश्यक कारबाहीका लागि प्रहरी परिसर काठमाडौं पठाइएको छ ।