रामेछापको लाच्छेवरमा रुखबाट लड्दा एक जना घाइते, जिरी अस्पताल लगियो
सांकेतिक तस्बिर
१२ पुस, रामेछाप । रामेछापको अन्तिम मानव बस्ती रहेको लाच्छेवरमा घाँस काट्ने क्रममा रुखबाट लड्दा एक स्थानीय गम्भीर घाइते भएका छन् । घाइतेको उद्दार गरी उपचारको लागि दोलखाको जिरी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
शुक्रवार अपरान्ह ४ः३० बजेको समयमा उमाकुण्ड गाउँपालिका वडा नं १, गुम्देलको लाच्छेवरका अन्दाजी ४२ वर्षीय रेन्जी शेर्पा वस्तुलाई घाँस झार्न खस्रुको रुखमा चढेको र सो रुखबाट लड्दा उनी घाइते भएको अस्थायी प्रहरी पोस्ट गुम्देलले जनाएको हो । घाइते शेर्पालाई बाहिरी चोट नलागेको भए पनि समस्याको मध्यनजर गरी शनिवार बिहानै टाटा सुमो मार्फत जिरी अस्पताल लगिएको अस्थायी प्रहरी पोस्टका प्रहरी नायव निरीक्षक बहादुर प्रसाद यादबले जानकारी दिए ।
घाइते शेर्पाको जिरी अस्पतालमा उपचार भइरहेको छ । जिल्लाको दुर्गम क्षेत्रको पहिचान बोकेको गुम्देलको माथिल्लो भेगमा लोप हुँदै गएको चौँरी पालन हुने क्षेत्र हो । उक्त क्षेत्रमा व्यावसायिक रूपमा शेर्पा जातिले चौँरी र भेडा पालन गर्दै आएका छन् । यसरी व्यावसायिक रूपमा चौँरी पालन गर्नेहरूको संख्या पछिल्ला वर्षाहरूमा बिस्तारै घट्दो क्रममा रहेको छ । जंगलमा घाँस काट्नु पर्ने र दुःख बढी भएको भन्दै चौरीपालन गर्ने किसानको संख्या घट्दै जान थालेको स्थानीयहरू बताउँछन् ।
