माओवादीबाट उपाध्यक्ष बनेकी रामेछापकी घिसिङले रोजिन उज्यालो नेपाल पार्टी, बनिन् समानुपातिक उम्मेद्वार
१३ पुस, रामेछाप । देश संघीयतामा गएपछि २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट दोरम्बा शैलुङ् गाउँपालिकाको उपाध्यक्ष बनेकी युवा नेतृ कृशला घिसिङ उज्यालो नेपाल पार्टी प्रवेश गरेकी छन् । आउँदा निर्वाचनमा पनि कम्युनिष्ट पार्टीको तर्फबाटै गाउँपालिकामा जनप्रतिनिधिको जिम्मेवारीमा फर्किन सक्ने नेतृले आइतबार हालको नेपाली कम्युनिष्ट पार्टीलाई त्याग्दै उज्यालो नेपाल पार्टी रोजेकी हुन् ।
युवा नेतृ घिसिङले नेकपा छाड्दै कुलमान घिसिङको पार्टीबाट समानुपातिकमा सांसदको उम्मेद्वारमा नाम सिफारिस गरिएको हो । आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि उम्मेद्वार समेत सिफारिसमा परेकी घिसिङलाई उज्यालो नेपाल पार्टीले रामेछापबाट जनजाति महिलाको सिटको लागि सिफारिस गरेको उज्यालो नेपाल पार्टी रामेछापका सचिव राज मैनालीले जानकारी गराएका छन् ।
उज्यालो नेपाल पार्टीले घिसिङसहित रामेछापमा पार्टीको संगठन विस्तारको संयोजक बनेका राम कृष्ण लामालाई जनजाति पुरुष, र पदमबहादुर घिसिङलाई जनजाति पुरुषको समानुपातिक उम्मेद्वार सिफारिस गरेको छ ।
जेन्जी आन्दोलनपछि बनेको उज्यालो नेपाल पार्टीले रामेछापमा गएको पुस ७ गते जिल्ला शाखा गठन गरेको छ । कुलमान घिसिङको प्रमुख आतिथ्यतामा विस्तार गरिएको जिल्ला शाखामा अधिकांश जनजाति समुदायका मात्रै उपस्थिति र जिल्ला शाखाको अध्यक्षसहितको टिममा राखिएपछि भने जातीय संगठन भन्दै प्रश्न, आलोचना र टीकाटिप्पणी पनि भइरहेको छ ।
