एमाले निकट व्यवसायी एवं रामेछाप उद्योग वाणिज्य संघका महासचिव कुमार श्रेष्ठ नेपाली काँग्रेस प्रवेश
१६ पुस, रामेछाप । नेकपा एमाले निकट व्यवसायी एवं रामेछाप उद्योग वाणिज्य संघ रामेछापका महासचिव कुमार श्रेष्ठ नेपाली काँग्रेस प्रवेश गरेका छन् । उनलाई नेपाली काँग्रेस रामेछापका पार्टी सभापति एवं पूर्व राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) सहित जिल्लाका पार्टीका नेता कार्यकर्ताहरूले बिपीको शालिकलाई साक्षी राखेर स्वागत गरेका छन् ।
सोमबार ५० औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा मन्थली स्थित बिपीको शालिकमा माल्यार्पण गर्दै जिल्ला सभापति तामाङसहित जिल्ला कार्यसमितिका पदाधिकारी र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन थापा मगरसमेतको उपस्थितिमा महासचिव श्रेष्ठ काँग्रेस प्रवेश गरेका हुन् । पार्टी प्रवेश गरेपछि खुसी व्यक्त गरेका महासचिव श्रेष्ठले भने ‘विगत देखि नै मैले सभापति कान्छाराम दाईसहितको टिमबाट एउटा असल अभिभावकत्व पाएँ त्यसैले आजदेखि औपचारिक रूपमा भित्रिएँ ।’
पार्टी प्रवेश गरेका श्रेष्ठलाई खादा लगाएर स्वागत गर्दै काँग्रेस नेताहरूले आगामी दिनमा पार्टी प्रति थप सक्रिय र मिलेर जाने बचनबद्ध गरे । जिल्ला सदरमुकाम मन्थलीमा बसेर व्यवसाय गर्दै आएका युवा व्यवसायी श्रेष्ठ विगतमा एमाले निकट रहेर विभिन्न जिम्मेवार निर्वाह गरेका थिए ।

एमाले निकटकै व्यवसायी नवीन थापा मगरलाई समेत काँग्रेस निकट व्यवसायीहरुसंग सहकार्य गरी काँग्रेस प्रवेश गराएर संघको अध्यक्षको उम्मेद्वार बनाएर जिताउन भूमिका खेलाका महासचिव श्रेष्ठ भने गत संघको निर्वाचनमा तटस्थ जस्तै बनेर महासचिव पदमा निर्वाचन जितेका थिए ।
संघको यही माघ १० गते साधारण सभा हुन लागि रहेको र यही वर्ष चैत भित्र अधिवेशन समेत नजिकी रहेको अवस्थामा काँग्रेस भित्रिएका महासचिवको प्रवेशलाई विशेष चासोका साथ हेरिएको छ। भने, कतिपयले अध्यक्ष पदका उठ्नको लागि टिका लगाएको भन्दै टिप्पणी गरेका छन् ।


