रामेछापको लखनपुरमा सडक विस्तारमा विवाद: छिमेकी चार बाउ छोराले ‘आज सबैलाई मार्ने हो’ भन्दै रड र ढुङ्गा मुडा प्रहार गरी फरार
२६ पुस, रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ७ लखनपुरमा सडक स्तर उन्नति गर्दा जग्गा मिचिएको विषयमा विवाद हुँदा एकै घरका तीन बाबुछोरा निर्घात कुटिएका छन् । छिमेकीबाटै भएको उक्त कुटपीट्बाट ६६ वर्षिय नाम्ग्याल तामाङ र उनका दुई छोरामाथि ज्यानै लिने गरी फलामे रडसहित ढुङ्गा प्रहार भएको पीडित परिवारका सदस्यले बताएका छन् । कुटपिटमा संलग्न चार जना भने फरार भएका छन् ।
गएको बुधवार लखनपुरको घट्टेखोला–काकलिङ्ग डाँडा सडक मर्मत गर्ने क्रममा सडकको माथिल्लो तर्फ पर्ने आफ्नो मात्रै जग्गा बढी कटान हुन थालेपछि नाम्ग्यालका जेठो छोरा ४२ वर्षीय सलाम मोक्तानले ‘तपाईँहरूले यसरी एकतर्फीको मेरो जग्गा मात्र कटान हुने गरी सडक खन्न मिल्दैन बिचबाट दुवै पक्षको बराबर पर्ने गरी जग्गाको प्रयोग गरौँ, त्यसमा मेरो कति पर्छ त्यो म दिन तयार छु’, भनेर भन्दा छिमेकी ‘कुन्साङ’ भनेर चिनिने दिलबहादुर तामाङ (मोक्तान) ले एक्कासि पछाडिबाट फलामको रड टाउकोमा प्रहार गर्दा सलाम गम्भीर चोट लागेर ढलेका थिए । उनीहरु (छिमेकी) ले आफूहरूको जग्गा नमिची सलामको परिवारको मात्रै जग्गा कटान गरेर सडक विस्तार (मर्मत) गर्न थालेपछि विवाद भएको बुझिएको हो ।
आफ्नै छिमेकी ६० वर्षीय ‘कामी’ भनेर चिनिने छेदोर्जे तामाङकै ३७ वर्षीय छोरा ‘कुन्साङ’ भनेर चिनिने दिलबहादुर तामाङ (मोक्तान) ले एक्कासि पछाडिबाट रड प्रहार गर्दा सलाम ढलेपछि सोही ठाउँका ५० वर्षीय मानध्वज तामाङ र उनका छोरा २२ वर्षीय काले तामाङले पनि ‘आज यसलाई यही मार्नुपर्छ भन्दै ढुङ्गाले प्रहार गरेको’ सलाम मोक्तानकी बहिनी रिणा माया मोक्तानले बताएकी छन् । खाँडादेवी गाउँपालिका वडा नं ८ निवासी रिणाले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार दाइलाई ज्यान मार्ने नियतले छिमेकै चार बाबुछोरा मिलेर कुटपीट् गर्दा ६६ वर्षीय वृद्ध बुबाको ३ वटा करङ भाँचिएको र दाजु (सलाम) गम्भीर अवस्थामा उपचाररत रहेका हुन् । कान्छो भाइको समेत कान, टाउको लगाएका शरीरमा चोटपटक लागेको छ ।
कुटपिट गरी फरार रहेका चार जना
रिणाले सुनाइन् ‘मेरो दाजु बेहोस भएपछि उक्त स्थान आसपास भएका मानिसले मान्छे मारे भनी चिच्याएको आवाज सुनी घरमा रहनु भएको बुवा र मेरो भाइ (३६ वर्षीय विष्णु मोक्तान) उक्त स्थानमा पुगेर ‘किन यसरी कुटपिट गर्नु भएको भन्दा यसलाई मात्र होइन तिमीहरूलाई पनि आज मार्ने हो’, ज्यान नै लिने नियतले आफ्नो बुबा, दाजु र भाइ माथि आक्रमण भएको सुनाउँदै ‘त्यहाँ भएका धारिलो ढुङ्गा, तथा उक्त स्थानमा रहेको लौरो तथा रडले मेरो बुबा र भाइलाई समेत प्रहार गरी रक्तमुछेल भनाए’,।
आफ्नो ससुराबाबु, जेठान र सालो भाइलाई मरणासन्न अवस्थामा पुऱ्याएपछि गाउँका मानिसहरू जम्मा भएर ‘खबरदार ज्यान मर्ला भनी चिच्याएको कारण थप कुटपिट गर्न छाडेर त्यहाँबाट उनीहरू फरार भए’को सलामका ज्वाइँ सिताराम वाइबाले रामेछाप टाइम्ससंग सुनाए ।
सडक विस्तारकै निउमा आफ्नो परिवारका तीन जनामाथि ज्यानै लिने गरी कुटपिट गरेर फरार भएका चार बाउ छोरा भने हाल फरार रहेको पीडित परिवारको भनाई छ । कुटपिटबाट गम्भीर घाइते तीन बाबु छोरालाई तत्काल गाउँकै उप–स्वास्थ्य चौकीमा सामान्य उपचारपछि काठमाडौँ लगिएको छ । हाल सलामको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार जारी छ । ‘दाइको अवस्था बुबा र भाइको भन्दा जटिल छ’, तीनै जना उपचाररत रहेको सुनाउँदै ज्वाइँ सितारामले भने ‘अरूले नदेखेको भए मार्ने थिए ।’
यसरी कुटपिट गर्नेहरू भने हाल सम्म फरारै रहेको बुझिएको छ । घटना घटेको भोलि पल्ट बिहीबार प्रहरीमा जाहेरी दिन आएकी रिणाको जाहेरी प्रहरीले बुझी सकेको छैन । पीडितहरूको ‘घाउँ जाँच’ रिपोर्ट लगाएको केही प्राविधिक कारण जाहेरी दर्ता भई नसकेको ज्वाइँ सितारामले शनिवार बिहान रामेछाप टाइम्सलाई बताए ।
‘प्रहरीले जाहेरी लिन नमानेकै त हैन तर प्राविधिक केही प्रक्रिया मिलाएपछि हुन्छ भनेको छ’ सितारामले रामेछाप टाइम्संग भने ।
