रामेछापमा अरनिको यातायात नचल्दा मारमा यात्रु, साना गाडीले चर्को भाडा असुल्दै ‘मनपरी गर्न’ थालेको गुनासो
सांकेतिक तस्बिर
०५ फागुन, रामेछाप । अरनिको यातायातले गएको मंगलबार मन्थली नगरपालिका–६ भलुवाजोर स्थित त्रिवेणी मन्दिर नजिकै भएको बस दुर्घटनाको कारण सुरक्षा चुनौती बढेको भन्दै रामेछाप हुँदै चल्ने आफ्ना सबै सवारी संचालनमा रोक अनिश्चित कालिन रोक लगाएपछि यात्रु मारमा परेको गुनासो गर्न थालेका छन् । संचालनमा रहेका अन्य स–साना गाडीहरूले पनि भाडादर चर्को अशुल्न थालेको यात्रुको गुनासो बढेको हो ।
समितिले भने पीडित परिवारका मागलाई सम्बोधन गर्न पन्छिने दाउ सहित सुरक्षाको कारण देखाउँदै सवारी संचालनमा रोक लगाएर जिम्मेवार संस्थाको भूमिकाबाट पन्छिन खोजेको भन्दै चर्को आलोचना भइरहेको छ । बस नचल्दा ७ सय भाडादर रहेको मन्थली–काठमाडौँ यात्रामै १५ सय सम्म भाडा लिएको यात्रुहरूको गुनासो छ ।
आफूहरू भनेको बेला गाडी नपाएपछि यात्रुहरूले समाधानको माग गर्दै प्रशासनको ध्यानाकर्षण गराएका छन् । प्रशासनमा स्थानीय सेवाग्राहीहरूले गाडी बेलैमा नपाएपछि प्रमुख जिल्ला अधिकारीलाई नै फोन गरेर धम्की चेतावनी दिएका छन् । प्रमुख जिल्ला अधिकारीले सुनाए ‘धेरैले फोनै गरेर भन्नु भयो तपाईँहरू समाधान गर्नु हुन्छ कि हामी प्रदर्शनमा आउनु पर्यो’ ?
बस दुर्घटना भएको दिन त्रिवेणी नजिकै देखिएका सवारी । तस्बिर रामेछाप टाइम्स/मिलन घिमिरे
स्थानीयहरूले चेतावनीको भाषामा बस संचालन गर्न प्रशासनले भूमिका खेल्नु पर्ने माग गरेको प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले बताएका हुन् ।
‘चालकको गम्भीर लापरबाही कै कारण उक्त दुर्घटना घटेको’, बस चालक र बसका धनी एकै बसमा सवार रहँदा ‘लफडा’ पनि परेको लगाएका विभिन्न कारक तत्त्व मुख्य रहेको भन्दै अनुसन्धान, विश्लेषण विभिन्न कोणबाट भइरहेको बेला आफ्ना आफन्त गुमाएका पीडित परिवारले क्षतिपूर्तिको माग राखेर अरनिको यातायात समितिका गाडी ठाउँ–ठाउँमा रोकेर अवरोध गरेर पछि अरनिको यातायात समितिले रामेछाप मात्रै नभएर रामेछाप हुँदै ओखलढुङ्गा, दोलखा र सोलुखुम्बु जिल्ला समेत पुग्दै आएका रुटका गाडी अनिश्चित कालको लागि बन्द गरेको छ ।
जिल्लाको विभिन्न गाउँ बस्तीबाट यात्रु बोक्दै आएको समितिले निर्वाचनको मुखैमा आएर गाडी संचालनमा रोक लगाउँदा यात्रुलाई मात्र नभएर प्रहरी र प्रशासनलाई समेत अवरोध खडा भएको बुझिएको छ । निर्वाचनको मुखैमा गाडी नचल्दा र संचालनमा रहेका टाटा सुमो, बोलेरो र अटो लगायतका निजी गाडीहरू भाडा शुल्क दोब्बर लिने गरेको गुनासो व्यापक आएको रामेछाप प्रशासनले भनेको हो ।
उक्त समस्या समाधान गर्न प्रहरी र प्रशासन प्रयासरत रहेको बताउँदै चाँडै समाधान गर्ने गरी काम भइरहेको प्रमुख जिल्ला अधिकारी थापाले आश्वासन दिए । ‘हामी सबैसँग समन्वय र सहकार्य गरी निकास खोज्दै छौँ।’
त्यस्तै प्रहरी प्रमुख भोला कुमार भट्टले पनि समस्याको समाधान गर्न सक्दो प्रयास भइरहेको बताउँदै चर्को भाडा असुलेको विषयमा कडाइ गर्ने बताए । साथै, पीडित परिवारका माग सम्बोधन गराउनको लागि अरनिको यातायात समितिसँग पनि छलफल भइरहेको उनको भनाई छ ।
गत मंगलबार भएको बस दुर्घटनामा घटनास्थलमै १६ जनाको ज्यान गएको थियो । दुर्घटनामा परी बेपत्ता रहेको आशंकामा खोजी जारी राख्दा हिजो सोमबार १ र आज मंगलबार थप १ जना गरी दुई जना मृत फेला परेका छन् । अझै १ जना बालक हराइ रहेको प्रहरी र पीडित परिवारको भनाई छ ।
