रामेछापमा २ हजार ४६१ जना विद्यार्थीले एसइई परीक्षा दिँदै
१३ फागुन, रामेछाप । आउँदो चैत्र १९ गते देखि हुने यस शैक्षिक सत्र (वर्ष) को एसइईमा रामेछापबाट २ हजार ४ सय ६१ जना विद्यार्थीले परीक्षा दिने भएका छन् । यो गत वर्षको तुलनामा करिब तीन सय कम हो । यस वर्षको कक्षा १० को वार्षिक परीक्षा (एसइई) को तयारी समेत करिब अन्तिम चरणमा पुगेको शिक्षा विकास तथा समन्वय इकाई रामेछापले जनाएको छ । ‘हामी आवश्यक अभिमुखीकरण सहितका तयारीहरू सकेर प्राविधिक कार्य अन्तिम तयारीमा छौँ’ शिक्षा समन्वय इकाई प्रमुख नेत्रप्रसाद गजुरेलले रामेछाप टाइम्सलाई बताए ।
गएको २०८० सालको एसइई परीक्षामा २४ वटा केन्द्र रहेको रामेछापमा २०८१ मा ५ वटा घटेर १९ वटा केन्द्र मार्फत एसइई परीक्षा सम्पन्न गरिएकोमा यो वर्ष पनि ५ वटा घटाएर १४ वटा कायम गरिएको छ । जसमा चार वटा पालिकामा १–१ वटा मात्रै परीक्षा केन्द्र कायम गरिएको शिक्षा समन्वय इकाई प्रमुख गजुरेलको भनाई छ । उनका अनुसार ७ वटा वडामा १–१ वटा मावि विद्यालय रहेको उमाकुण्ड गाउँपालिकाको वडा नं २ बाम्तिभण्डार स्थित शिद्देश्वर माविमा पालिका भरको (एसइई) परीक्षा हुने छ ।
त्यस्तै, ६ वटा वडा रहेको गोकुलगंगा गाउँपालिकामा वडा नं ४ बेताली स्थित जन जागृत मावि बेतालीमा परीक्षा केन्द्र कायम भएको छ । ९ वटा वडा रहेको खाँडादेवी गाउँपालिकामा प्रयागेश्वर मावि पकरबासमा पालिका भरको वार्षिक परीक्षा गर्ने केन्द्र निर्धारण गरिएको हो ।
७ वटा वडा रहेको दोरम्बा शैलुङ् गाउँपालिकामा वडा नं ३, टोकरपुर स्थित कण्ठेश्वर मावि टोकरपुरमा र ५ वटा मात्रै वडा रहेको सुनापति गाउँपालिकामा जिल्लाकै चर्चित र नमुना विद्यालय डहू माविमा परीक्षा केन्द्र तोकिएको समन्वय इकाई रामेछापले बताएको छ । ६ वटा गाउँपालिका मध्ये लिखु तामाकोसी गाउँपालिकामा भने धोबी र खिम्तीमा १–१ परीक्षा केन्द्र गरी दुई परीक्षा केन्द्र तोकिएको छ ।
त्यस्तै मन्थली र रामेछाप नगरपालिकामा यहाँका विद्यार्थी र आवश्यकता अनुसार परीक्षा केन्द्र तोकिएको बताइएको छ । जिल्लामा १५५ जना प्राविधिक धारका र २०१ जना ग्रेड वृद्धि परीक्षार्थीसहित २ हजार ४ सय ६१ जना विद्यार्थीले यो वर्षको एसइई दिने तयारी भइरहेको समन्वय प्रमुख गजुरेलले प्रस्ट पारे ।
यो वर्ष जिल्लामा सबै भन्दा धेरै मन्थली क्याम्पसको परीक्षा केन्द्रमा २५० परीक्षार्थीले परीक्षा दिने तयारी रहेको छ । प्राविधिक तर्फको जिल्लाभरको एक मात्रै सेन्टर (परीक्षा केन्द्र) मन्थली माविमा तोकिएको छ । २०७८/०७९ सालको एसइई परीक्षामा सहभागी भएर कम ग्रेड ल्याएका विद्यार्थीहरूले पनि यो वर्ष ग्रेड वृद्धि परीक्षा दिन पाउने भएका छन् । त्यसको लागि परीक्षामा समावेश हुनको लागि फारम भरेकाहरूको लागि मन्थली–१ स्थित नागकन्या मावि गढवारीमा जिल्लाभरका विद्यार्थीको लागि १ मात्रै परीक्षा केन्द्र तयार पारिएको छ ।
समन्वय इकाई रामेछापले एसइई परीक्षाको केन्द्रध्यक्षहरुलाई अभिमुखीकरण कार्यक्रम गरी एसइई परीक्षालाई सफल पार्न आग्रह गराएको छ । केही दिन यता एसइईमा सहभागी हुने निजी तथा सरकारी विद्यालयका विद्यार्थीहरूलाई बिदाइ गरी परीक्षामा सहभागी गराउने अन्तिम तयारीमा जिल्लाका विद्यालयहरू जुटेका छन् ।
