‘एमाले विवाद १० दिन अघिकै अवस्थामा’ आज पनि छलफल

| असार २५, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

२५ असार, काठमाडौं । सत्तारुढ नेकपा एमालेको विवादमा कुनै प्रगति हुन नसकेको नेताहरुले बताएका छन् । 

 

बिहीबार दुई पटक बैठक भए पनि ठोस प्रगति हुन सकेन । बिहान बसेको बैठकमा कुनै प्रगति हुन नसकेपछि साँझ अर्थ मन्त्रालयमा पुनः कार्यदलको बैठक बसेको थियो ।

 

बुधबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच करिव २ घण्टा छलफल भएको थियो ।

 

कार्यदलमा नेपाल पक्षका सदस्य एमाले उपमहासचिव घनश्याम भूसालले १० दिनदेखि कुनै प्रगति नभएको बताए । ‘१० दिनअघि हामीले केही एजेन्डामा सहमति गरेका थियौं, त्यसपछि कुनै पनि खास प्रगति भएको छैन उनले भने ।

 

कार्यदलमा संस्थापनतर्फका सदस्यसमेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल मन्त्रिपरिषद् बैठकले उपस्थित भएनन्  । 

 

कार्यदलमा संस्थापनतर्फका संयोजक स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले पनि तीन वर्षदेखिको समस्या समाधान गर्न केही समय लिनु स्वभाविक भएको प्रतिक्रिया दिए । उनले भने हामी ‘आशावादी छौं, भोलि साढे ११ बजे बस्ने बैठकले टुंगोमा पुर्‍याउने छ ।’

 

बैठक शुक्रबार बिहान साढे ११ बजे पुनः बोलाइएको छ ।