केन्द्रीय नेतासँग छलफल गर्न मुख्यमन्त्री गुरुङ काठमाडौं आउँदै
फाइल फोटो
२, वैशाख, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रतिपक्षी दलबाट मोर्चाबन्दी सहित अविश्वासको प्रस्ताव दर्ता भएपछि छलफलको लागि संघीय राजधानी काठमाडौं आउने भएका छन्।
प्रदेशमा देखिएको राजनीतिक घटनाक्रमको बिषयमा छलफल गर्नका लागि उनी शुक्रबार काठमाडौं आउन लागेका सचिवालयले जनाएको छ।
कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) को २८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। निर्णायक मानिएको राष्टिय जनमोर्चाले समेत अविश्वास प्रस्तावमा सहमति जनाउने बताइसकेको छ।
उनी प्रधानमन्त्री केपी शर्मा ओलीको निकटका हुन्। आफ्नो कुर्सी धरापमा परेपछि केन्द्रमा नेताहरूसँगको परामर्शका लागि काठमाडौं आउन लागेका हुन्। अविश्वासको प्रस्ताव आउने भएपछि उनले संसद् अधिवेशन अन्त्य गरेको थिए।
मुख्यमन्त्री गुरुङलाई बहुमतको सरकार निर्माण गर्न ३ सांसद् अपुग छन्। प्रदेशमा ६० सांसद छन्। सरकार निर्माण गर्न ३१ सांसद आवश्यक पर्छ। एमाले २८, कांग्रेस १५, माओवादी १२, राष्टिय जनमोर्चा ३ र राप्रपा २ सांसद छन्। मुख्यमन्त्री गुरुङलाई सरकार जोगाउन जनमोर्चाको साथ भए पुग्छ।
