पहिरोले अबरुद्ध सबै सडक पूर्ण रुपमा खुले

| भदौ १४, २०७८ सोमबार

मन्थली-खाँडादेवी तर्फको सडकमा खसेको पहिरो पन्छाउदै जेसिबी । तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स ।
A A A
A A A

१४ भदौ,रामेछाप । रामेछापमा निरन्तरको वर्षाले अबरुद्ध भएका सबै सडक खुलेका छन् । मन्थली-खिम्ती, मन्थली-खाँडादेवी, मन्थली-खुर्कोट जोड्ने मुख्य सडक मार्ग सहित अन्य सहायक सडकहरु अबरिल बर्षापछि पहिरोले ठाउँ-ठाउँमा अबरुद्ध भएका थिए ।


पहिरो खसेकोपछि सडक डिभिजन कार्यालय खुर्कोट सिन्धुली र मन्थली नगरपालिकाको जेसिबीले ठाउँ-ठाउँमा खसेको पहिरो पन्छाएसंगै आइतबार साँझ ६ बजेदेखि सडकहरु खुलेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

गत शनिबार रातिको समयमा लिखु तामाकोशी गाउँपालिका वडा नं ७ स्थित तिल्पुङ्ग् छहरामा पहिरो खस्दा मन्थली-खिम्ती सडक पूर्णरुपमा अबरुद्ध भएको थियो ।

 

त्यस्तै मन्थली-खाँडादेवी जोड्ने सडकको मन्थली एरपोर्टको पारिपट्टी सडकमा पहिरो खस्दा सडक पूर्ण रुपमा अबरुद्ध बनेको थियो ।

 

त्यस्तै मन्थली-सेलेघाट-खुर्कोट सडक मन्थली १ कुनौरीको ठाउँ-ठाउँमा पहिरो खस्दा अबरुद्ध बनेको थियो । सो पहिरो आइतबार दुबै तर्फबाट जेसिबीले पन्छाएसंगै सडक अहिले सबै तिरको खुल्ला रहेको सूचना अधिकारी श्रेष्ठले रामेछाप टाइम्सलाई बताए ।

 

उनका अनुसार अहिले जिल्लाका सबै सडक सुचारु अबस्थामा रहेका छन् । पहिरो पन्छाउन मन्थली नगरपालिका, सडक डिभिजन कार्यालय खुर्कोट, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रामेछाप सहयोगी मन (रासम) लगाएतले पहल गरेका छन्  ।