लिखुमा गाउँपालिका प्रमुख र वडा अध्यक्षको घरमा आगलागी, दुई घर पूर्ण जल्दा ५० लाख भन्दा बढिको क्षति
३,वैशाख, प्रविण मुनाल ,ओखलढुङ्गा ।
ओखलढुंगाको लिखु गाउँपालिका ८ टारकेराबारीमा आगलागी हुँदा ५० लाख भन्दा बढिको क्षति भएको छ । गाउँपालिका अध्यक्ष समेत रहेका लिखु ८ का गोविन्द पौडेल र उनका भाई वडा नम्बर ८ का वडा अध्यक्ष विशाल कुमार पौडेलको घरमा गएराति आगलागी हुँदा ५० लाख भन्दा बढिको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
गएराति वर्षासँगै परेको चट्याङ्का कारण आगलागी हुँदा ढुङ्गा, सिमेन्ट र जस्ताले बनेको दुईवटा घर पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक शिव कट्टेलले जनाकारी दिए ।
गाउँपालिका अध्यक्ष गोविन्द पौडलका अनुसार आगलागीका कारण घर, सहित नजिकैको टहरा लगायत अन्य संरचना पनि सबै जलेर नष्ट भएका छन् ।
मध्ये राति २ ः१५ परेको चट्याङका कारण सुरु भएको आगो इलाका प्रहरी कार्यालय गाम्नाङटार र यसमबाट खटिएको प्रहरी टोली र स्थानीयको प्रयासमा शुक्रबार बिहान ६ बजे मात्र नियन्त्रणमा लिएको थियो ।
आगो निभाइए पनि घर भित्र रहेका सामान केहि जोगाउन नसकिएको गाउँपालिका अध्यक्ष पौडेलले बताए । सबैको प्रयासमा नजिकै रहेको एउटा घर भने जोगाइएको छ । आगलागी भए पछि भाग्ने क्रममा गाँउपालिका अध्यक्ष पौडेलकी बुहारी बिना पौडेल सामान्य घाइते भएकी छन् ।
बिहिबार घरका सबै सदस्य काम विशेषले बाहिर, अर्को घरमा बसेकाले मानवीय क्षति भने नभएको पालिका अध्यक्ष पौडेलले बताए ।