पूर्व आईजीपीको घरसहित विभिन्न ठाउँबाट ‘एभोकाडो’ चोरेको आरोपमा रामेछापका तीन जनासहित एक दर्जन युवा पक्राउ

| असोज ८, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

८ असोज,रामेछाप । पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा रामेछापका तीन जनासहित १ दर्जन युवकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल बोहराको घरपरिसरसहित अन्य १० ठाउँबाट एभोकाडो चोरेको आरोपमा १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

 


पक्राउ पर्नेमा रामेछापका सञ्जीव खड्का, निरज नेपाली र शंकर कठायत रहेका छन् । उनीहरुको रामेछापको स्थायी ठेगाना खुलाइएको छैन् । 

 

त्यस्तै हेटौंडा घर भएका २० वर्षीय राजेश राई, राजिव गुरुङ, काभ्रेका यमबहादुर तामाङ,मिलन दुलाल, समिर तामाङ उर्फ वादशा र देव तामाङ, सुनसरीका मोहित दाहाल, झापाका प्रदिप यादवसहित १२ जना पक्राउ परेको अपराध महाशाखाले जनाएको छ । गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई शुक्रबार पक्राउ गरिएको जनाएको छ ।   

 

चोरीमा संलग्न समूहले राति घर कम्पाउन्डमा छिरेर चोर्ने र सस्तोमा फलफूल पसलमा बेच्ने गरेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए ।  दुई समूहमा रहेका आरोपीहरुले बुद्धनगर, थापागाउँ, नयाँ बानेश्वर, मैतीदेवी, अनामनगर, शंखमुल, देवीनगर, नक्साल, ज्ञानेश्वर, चण्डोल र मालिगाउँस्थित घर कम्पाउन्डबाट चोरी गरेको खुलेको छ । 


बजार मूल्य ३५० देखि ४ सय रुपैयाँ प्रतिकेजी रहेको एभोकाडो उनीहरुले १५० देखी २०० मा फलफुल पसलमा बेच्ने गरेका थिए । चोरीमा संलग्नहरुले राति ११ बजेपछि ५ बजेसम्म चोर्ने र बिहान ६ बजेभित्र पसलमा बेच्ने गरेका थिए । एभोकाडो किन्ने बानेश्वर क्षेत्रका ८ ओटा फलफुल पसलेमाथि पनि महानगरीय प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको छ ।


घिउ फलको रुपमा परिचित एभोकाडो काभ्रे घर भएका देव तामाङको योजनामा विगत ३ वर्षदेखि काठमाडौंका घर कम्पाउन्डबाट चोरी हुँदै आएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

पूर्व आईजीपीको सूचनापछि पक्राउ 


काठमाडौंमा लामो समयदेखि एभोकाडो चोरी हुने गरेपनि कसैले प्रहरीलाई जानकारी गराएका थिएनन् । पूर्व आईजीपी बोहराले आफ्नो घर कम्पाउण्डको एभोकाडो चोरिएको जानकारी प्रहरीलाई दिएपछि त्यसबारे अनुसन्धान शुरु गरिएको थियो । 


अनुसन्धानमा संलग्न प्रहरीहरूले शान्तिनगरमा सटर फुटाउँदै गरेका सञ्जीव खड्कालाई पक्राउ गरे । उनको गोजीमा एउटा एभोकाडो भेटियो । उनीमाथि अनुसन्धान गर्दै जाँदा प्रहरी चोरीमा संलग्नहरुको जरोमा पुगेको थियो ।