फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्यास प्रतिसिलिन्डर १ हजार ५७५ रूपैयाँ

| कात्तिक २५, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

२५ कातिक,काठमाडौं । सरकारले एक महिनामै पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। यसअघि सरकारले कात्तिक १२ गते पेट्रोल, डिजलसहित खाना पकाउनेएलपी ग्यासको मूल्य बढाएको थियो। आज मध्यरातदेखि नयाँ मूल्य लागू हुनेछ।

 

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रूपैयाँ बढाएको छ।

 

खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रूपैयाँ बढाएर १ हजार ५ सय ७५ रूपैयाँ पुर्‍याएको छ। कात्तिक १२ मा एलपी ग्यासको मूल्य ५० रूपैयाँले बढाइएको थियो।

 

पेट्रोलको भाउ प्रतिलिटर १ सय ३६ रूपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १ सय १९ रूपैयाँ पुगेको छ। निगमले हवाई इन्धन प्रतिलिटरमा ५ रूपैयाँ बढाएर १ सय १ रूपैयाँ पुर्‍याएको छ।

 

निगमले मूल्य बढाएपछि पनि अझै पेट्रोलमा प्रतिलिटर १७ रूपैयाँ ५८ पैसा, डिजेलमा १३ रूपैयाँ १४ पैसा घाटा नै रहेको जनाएको छ। एलपी ग्यासमा प्रति सिलिन्डर ६ सय ५७ रूपैयाँ ८४ पैसा घाटा रहेको निगमको भनाइ छ।