रामेछापमा ४ हजार ४४२ जना मतदाता थपिएः एक लाख ८३ हजार ३०९ पुगे मतदाता

८ भदौ, रामेछाप । रामेछाप जिल्लामा गत स्थानीय हल निर्वाचन भन्दा आगामी मंसिर ४ गते हुने चुनावमा चार हजार बढी मतदाता थपिएका छन् । यो निर्वाचनमा २.४८ प्रतिशत बढी मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
बुधबार आज जिल्ला सदरमुकाम मन्थली स्थित जिल्ला समन्वय समितिको हलमा भएको मतदाता नामावली अध्यावधिक (दाबी बिरोध समेत) अन्तरक्रिया कार्यक्रममा सार्वजनिक मतादाता नामावली संख्यामा गत स्थानीय तहको भन्दा थप चार हजार चार सय ४२ जना मतदाता थपिएका हुन् । योसंगै जिल्लामा अब मतदाताको संख्या कूल एक लाख ८३ हजार तीन सय नौ जना पुगेको छ । गत स्थानीय तहको निर्वाचनमा जिल्लामा कूल लाख ७८ हजार ८ सय ६७ जनाले मतदान गरेका थिए । जसअनुसार जिल्लामा कूल ६५.५४ प्रतिशतले मतदान गरेका थिए ।
यो पटक निर्वाचनमा प्रदेश सभा निर्वाचन क्षेत्र १ मा महिला ४५ हजार ६ सय ४९ र पुरुष ४८ हजार १ सय ८८ जना मतदाता रहेका छन् ।
त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र २ मा महिला ४५ हजार ८ सय ६४ जना र पुरुष ४८ हजार १ सय ८८ जना रहेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार दुई निर्वाचन क्षेत्रमा पुरुष मतदाताको संख्या बराबार रहेको देखिन्छ ।
प्रमुख जिल्ला अधिकारी दीपक पहाडीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछाप (जिसस) प्रमुख चिना खड्का कार्कीले चुनावमा सबै राजनीतिक दलले आफ्नो पार्टीलाई जिताउन साम/नाम, दण्ड भेद् प्रयोग गर्ने गरेको बताइन् । उनले एक भोटको लागि उम्मेद्वारले ज्यानको जोखिममा राखेर अगाडी बड्ने गरेको स्मरण गराउदै त्यसता गतिविधिबाट भैपरि आउने कुराबाट सधै सचेत हुनु पर्ने बताइन् । उनले निर्वाचन भय रहित र विकास प्रेमीले जित्नु र जिताउनु पर्नेमा आवश्यकता औल्याइन् । 'त्यसबाट ठूला दुर्घटना भएका पनि छन् हामीले भोगेका पनि छौं । ती कुराबाट सबै सचेत र सजग हुनु पर्छ उनले भनिन् ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी पहाडीले कतिपए वडाहरुमा मृत्यु भैसकेका मानिसको मतदाता नामावलीमा नाम रहेको भन्दै ती कुरामा वडाले भूमिका खेलिदिन आग्रह गरे । प्रजिअ पहाडीले वडा नै राज्य हो त्यहाँ हुने जनप्रतिनिधि, कर्मचारीले त्यस्ता कुरालाई विशेष ध्यान दिनु पर्छ । साना तीना गल्ती, कम्जोरीलाई तल्लो तहमै समाधान गर्नु पर्छ भने ।