कांग्रेसको संघ र माओवादीको प्रदेशमा उम्मेद्वारी, एकिकृत समाजवादीले गठबन्धन तोड्दै छुट्टै उम्मेद्वारी दियो

२७ असोज, रामेछाप । आउँदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनावको लागि सत्ता गठबन्धनको तर्फबाट रामेछापमा प्रतिनिधि सभाको लागि नेपाली कांग्रेसका सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ को उम्मेद्वारी दर्ता भएको छ ।
जिल्ला पार्टी सभापति तामाङ्ले गठबन्धनको नेतृत्व गर्दै सांसदको लागि उम्मेद्वारी दर्ता गरेका हुन् । समाजसेवी छवि बनाएका तामाङ् एक निर्माण व्यवसायी तथा विभिन्न गैरसरकारी संस्थामा आबद्ध भएर जनताको सेवामा समर्पित छन् ।
एकिकृत समाजवादीले तोड्यो गठबन्धन
जिल्लामा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी (एस) गठबन्धनमा रहे पनि (एस)ले भने गठबन्धनलाई अघोषित रूपमा तोड्दै छुटै उम्मेद्वारी दर्ता गरेको छ । एसबाट संघमा पूर्वसांसद् समेत रहेका देवशंखर पौडेलको उम्मेद्वारी दर्ता गरेको (एस) रामेछापले जनाएको छ ।
त्यस्तै एसले प्रदेश ‘क’ मा निवर्तमान मेयर एवं पार्टी जिल्ला अध्यक्ष समेत रहेका रमेशकुमार बस्नेतको उम्मेद्वारी दर्ता गराएको छ ।
एकिकृत समाजवादी पार्टी एसका नेताहरु,रमेशकुमार बस्नेत, देवशंखर पौडेल,झम्क कंडेल ।
त्यस्तै सो पार्टीले प्रदेश ‘ख’ मा अधिवक्ता एवं पार्टी केन्द्रीय सदस्य झम्क कँडेललाई उठाएको छ । उनी एमालेमा विद्रोह गरेर पछि (एस) केन्द्रीय अध्यक्ष माधव नेपालको निवास पुगेरै पार्टी प्रवेश गरेका नेता हुन् ।
त्यस्तै गठबन्धनमा रहेको माओवादी केन्द्रले भने संघमा नेपाली कांग्रेसलाई सघाउँदै प्रदेशमा आफ्नो उपस्थिति जनाउनको लागि दुई जनाको उम्मेद्वारी दिएको छ । निर्वाचन क्षेत्र ‘क’ मा जिल्ला पार्टी सचिव समेत रहेका तारानारायण श्रेष्ठले उम्मेद्वारी दिएका छन् ।
भने ‘ख’ मा पार्टी केन्द्रीय सदस्य समेत रहेका नेता युवराज चौलगाईको उम्मेद्वारी दर्ता भएको छ । उनीहरुले आयोगले तोके अनुसार आज बिहीबार देखि घरदैलो कार्यक्रम सुरु गरेका छन् ।