बाम्ती पुगेर गठबन्धनका उम्मेद्वार ‘कान्छाराम’ र ‘विगुलले’ भने–‘जितेपछि उमाकुण्डलाई विकासको पहिलो प्राथामिकतामा राखेर काम गर्छौं’

४ असोज, रामेछाप । लोकतान्त्रिक गठबन्धनको तर्फका प्रतिनिधि सभा सदस्य उम्मेद्वार एवं नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले आफू निर्वाचित भए उमाकुण्डलाई विकासको पहिलो प्राथमिकतामा राखेर काम गर्ने बचन दिएका छन् ।
उमाकुण्ड गाउँपालिका प्राकृतिक रूपमा सम्पन्न रहेको बताएका तामाङले यीनै प्राकृतिक स्रोतलाई समुचित प्रयोग गरेर समृद्ध उमाकुण्ड बनाउने धारणा राखे । उनले रामेछापको उत्तरी भेगको उमाकुण्ड गाउँपालिका विगत देखि विकासमा धेरै पछि परेको बताउँदै आफू निर्वाचित भएपछि उमाकुण्डलाई पहिलो प्राथमिकतामा राखेर विकास गर्ने प्रतिबद्धता जनाए ।
उनले भौगोलिक रूपमा अति दुर्गम रहेको उमाकुण्डको भौतिक विकास र सामाजिक विकासको लागि आफूले यस अघि पनि व्यक्तिगत रूपमा सहयोग गरेको र अब निर्वाचित भएपछि उमाकुण्डलाई विकाससँग जोड्ने प्रतिबद्धता जनाए ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेद्वार तारानारायण श्रेष्ठले पालिकाको सम्पूर्ण भू–भागको बारेमा र पालिका विकासमा पछि परेकोमा पूर्ण रूपमा जानकार रहेको बताए । उनले पनि निर्वाचित भइसकेपछि समृद्ध उमाकुण्ड बनाउने गरी काम गर्ने आश्वासन दिए । उनले उमाकुण्डवासीको गुनासो धेरै रहेको र आफूहरू निर्वाचित भएपछि गुनासोको सुनुवाइ हुने बताए ।
त्यस्तै माओवादीका नेता एवं पूर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ ‘कुशल’ले आफ्नो २०७४ को निर्वाचनमा माओवादीको बलमा चुनाव जितेको एमाले अहिले राजा ल्याउने एजेण्डा बोकेर हिँडेको आरोप लगाउँदै नेकपा एमालेलाई देश भरीबाट हराउन आम मतदातालाई अनुरोध गरे ।
उनले जिल्लालाई आफू प्रतिनिधि सभाको सदस्य हुँदा पूर्ण बिद्युतिकरण गरिएको, दर्जनौँ पक्की पुल निर्माण भएका, सयौँ किलोमिटर सडक कालोपत्रे गरिएको बताउँदै अब ठुलठुला पूर्वाधारका काम गर्न अहिलेका गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरे ।
चुनावी सभामा बाम्तीका वडा सभापति चूडामणि श्रेष्ठ, रामेछापका निवर्तमान पार्टी सभापति लवश्री न्यौपाने, प्रतिनिधि सभा तर्फ नेपाली काँग्रेसबाट समानुपातिकका उम्मेद्वार मुक्त बहादुर महते, नेकपा माओवादी केन्द्रबाट समानुपातिकका उम्मेद्वार केशर कुमार कालिकोटे, नेविसंघका पूर्व महामन्त्री गजेन्द्र बहादुर कार्की, नेकपा माओवादी केन्द्र उमाकुण्ड गाउँ कमिटी अध्यक्ष अनन्त खड्का, नेकपा माओवादी केन्द्र उमाकुण्ड २ का वडा कमिटी अध्यक्ष प्रदीप बस्नेत लगायतले धारणा राखेका थिए ।
गठबन्धन दलको संयुक्त वडा स्तरीय सभाको आज चौथो दिन उमाकुण्ड गाउँपालिका वडा नं ३ कुबुकास्थली र वडा नं २ बाम्तीभण्डारमा कार्यक्रम सम्पन्न गरेको छ । भोलि शनिवार पालिकाको वडा नं १ गुम्देलमा कार्यक्रम रहेको नेपाली काँग्रेस रामेछापका सचिव दीपक खड्काले बताए ।
कार्यक्रम सोमबार देखि सुरु भएको हो ।