निवर्तमान वडा अध्यक्ष श्रेष्ठ एमाले छोडेर माओवादीमै फर्किए

६ कात्तिक, रामेछाप । पूर्व वडा अध्यक्ष नारायण दाश श्रेष्ठ माओवादीमै फर्किएका छन् ।
२०७४ सालमा माओवादी केन्द्रबाट मन्थली नगरपालिका वडा नं १ मन्थलीका वडा अध्यक्ष श्रेष्ठ गत १० वैशाख २०७९ मा एमाले प्रवेश गरेका थिए ।
शनिवार हिजो जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेमा आयोजित लोकतान्त्रिक बाम गठबन्धनको वडा स्तरीय चुनावी सभामा कार्यक्रममा श्रेष्ठ माओवादीमा फर्किएका हुन् ।
उनलाई गठबन्धनको चुनावी सभामा माओवादीका नेताहरूले पार्टीमा स्वागत गरे ।
निवर्तमान वडा अध्यक्ष श्रेष्ठलाई नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य एवं पूर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ सहितका माओवादीका नेताले पार्टीमा प्रवेश गराए ।
गत स्थानीय तहमा पार्टीले पुनः टिकट् नदिएपछि उनी माओवादी परित्याग गर्दै एमाले गएका थिए ।
श्रेष्ठ माओवादी केन्द्रका पुराना नेता एवं सदरमुकाम मन्थली स्थित देवकोटा चोकैमा सञ्चालित रामेछाप सामुदायिक अस्पतालका सञ्चालक समेत हुन् ।