रामेछापमा राष्ट्रिय परिचयपत्र नामावली संकलन ३ महिने अभियान सुरु, अब वडामै परिचय पत्र बन्ने

| कात्तिक १९, २०७९ शनिबार

A A A
A A A

१९ कात्तिक, रामेछाप ।  राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले रामेछापका वडा÷वडाबाटै नामावली संकलन गर्ने भएको छ । 

 

हिजो शुक्रवार आयोजना गरिएको राष्ट्रिय परिचयपत्र सम्बन्धी अभिमुखीकरण कार्यक्रमका अवसरमा विभागका महानिर्देशक तीर्थराज भट्टराईले दुई चरण गरी रामेछापका ६४ वटै वडामा राष्ट्रिय परिचय पत्रका लागि नामावली संकलन टोली खटाइने बताए । 

 

 

उनले टोलीलाई आवश्यक सहयोग गर्न गाँउपालिकाका प्रमुख उप–प्रमुख एवं प्रशासकीय अधिकृतहरूलाई अनुरोध समेत गरे ।  आठ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा सचिव, अध्यक्षसहितको संयुक्त अभिमुखीकरणमा उनले सबै मिलेर यो अभियानलाई सफल पार्न सहयोग गर्न आग्रह गरे । 

कार्यक्रममा सहभागी उपप्रमुखहरु । 

उनका अनुसार प्रत्येक वडा कार्यालय मार्फत नामावली संकलन हुनेछ र अहिले संकलन गरेको नामावलीको परिचयपत्र १ वर्ष पछाडि मात्र आउने छ । तर, मोबाइलमा आउने १० अङ्कको परिचयपत्र नम्बरले हरेक काम गर्न सकिने छ । 

 

एउटै वडामा २ वटा स्टेसन राखेर यो अभियान ३ महिनामा सक्ने योजना विभागको रहेको छ । जिल्लामा २ नगरपालिका र ६ वटा गाउँपालिकामा ६४ वटा वडाहरू रहेका छन् । सो अवसरमा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि एवं जिल्ला समन्वय प्रमुख चिना खड्का (कार्की) ले यस अभियानले जिल्ला प्रशासन कार्यालयमार्फत यस अघि हुँदै आएको राष्ट्रिय परिचय पत्रको नामावली सङ्कलनमा हुने भिडभाड कम हुने र नागरिकहरूले घरदैलोमै सेवा पुग्नेमा खुसी व्यक्त गरिन् । 

 

त्यस्तै प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले यस अभियानले नागरिकहरूलाई राष्ट्रिय परिचय पत्रका लागि नामावली सङ्कलनका लागि छिटो छरितो सेवा दिनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।