शान्ति प्रसाद पौडेलको ८ बुँदे घोषणपत्रः हरेक क्षेत्रमा आधुनिकीकरण गर्छु, सामाजिक सुरक्षा भत्ता बढाउने र प्राप्त गर्ने उमेर घटाउँदै जाने (पूर्णपाठ)

१९ कात्तिक, रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी (एमाले) बागमती प्रदेश सभाका उम्मेदवार शान्तिप्रसाद पौडेलले घोषणापत्र एवं प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले हरेक क्षेत्रमा आधुनिकीकरण गर्ने र सामाजिक सुरक्षा भत्ता बढाउने साथै प्राप्त गर्ने उमेर घटाउँदै जाने घोषणापत्रमा उल्लेख गरेका छन् ।
आउँदो मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा रामेछाप निर्वाचन क्षेत्र नं १ ‘क’ प्रदेशसभा सदस्यको उम्मेदवार पौडेलले आफ्नो राजनीति यात्रा सहित आगामी दिनमा गर्ने विभिन्न आशवसनलाई उल्लेख गर्दै दुई पृष्ठ घोषणापत्र उल्लेख गरेका हुन् ।
यस्तो छ राजनीतिक यात्रा
विद्यार्थी जीवनदेखि निरन्तर नेपालको वाम लोकतान्त्रिक तथा समतामूलक सामाजिक उत्थान र विकासको आन्दोलनमा सक्रिय रूपमा रहेको उल्लेख गरेका एमाले बागमती प्रदेश कमिटी सदस्य समेत रहेका पौडेलले अनेरास्ववियु पाँचौँ (२०३८) मा सदस्य भई २०४३ देखि महेन्द्र रत्न क्याम्पस ताहाचल प्रारम्भिक कमिटी सदस्यदेखि अध्यक्ष सम्म (७ वर्ष) बने ।
२०४३ सालदेखि तत्कालीन नेकपा (माले) मा सक्रिय हुँदै २०४७ सालमा नेकपा (एमाले) को सङ्गठित सदस्यता प्राप्त गरी ३ नं इलाका कमिटी सचिव ३ वर्ष, २०४६ सालदेखि २०५१ सालसम्म रामेछाप–काठमाडौँ सम्पर्क मञ्चको सदस्य, २०५५ देखि जिल्ला कमिटी रामेछापको सदस्य हुँदै जिल्ला कमिटी रामेछापको उपसचिव, सचिव र अध्यक्ष (४ वर्ष) गरी करिब १४ वर्ष पार्टीको महत्त्वपूर्ण नेतृत्व सम्हालिसकेको उनले स्मरण गरेका छन् ।
२०५४ सालमा नामाडी गा.वि.स.को अध्यक्ष र सोही वर्ष जिल्ला विकास समिति रामेछापको सदस्य र २०७४ सालको निर्वाचनमा रामेछाप जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं। १ को बागमती प्रदेश सभा सदस्यको जनप्रतिनिधिको रूपमा निर्वाचित भएका पौडेल ४९ दिने मन्त्री समेत हुन् ।
सो बेलादेखि रामेछापको सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी लगायत समग्र विकासको व्यवस्थित सुरुवात गरेको उनको दाबी छ । नेपालको नयाँ संविधान २०७२ जारी भएपछि भएको २०७४ को निर्वाचनपछि ‘सुखी नेपाल, समृद्ध नेपाल निर्माण’ अभियानमा समेत भूमिका खेलको उनको घोषणापत्रमा उल्लेख छ ।
४९ दिने बागमती प्रदेशको मन्त्री हुँदा यस्तो काम गरे । जुन काम अर्थ मन्त्री हुँदा कैलाश ढुङ्गेलले पनि गरेको छु भने ।
त्यस्तै आउँदो आफू प्रदेशको मन्त्री हुँदा विभिन्न ठाउँमा नयाँ ट्याक, विभिन्न सडकको स्तरोन्नति र कालोपत्रे, विभिन्न पुल निर्माण, खेलकुद मैदान तथा कभर्डहल निर्माण, प्रदेश तथा पालिका स्तरीय अस्पताल निर्माण, सामुदायिक विद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाको भवन निर्माण तथा प्रयोगशाला, पुस्तकालयको स्थापना, कोभिड १९ लाई ध्यानमा राखी अक्सिजन प्लान्ट र ल्याब स्थापना, स्वास्थ्य चौकीमा सुविधा थप, हरेक पालिकामा प्राविधिक शिक्षालयको स्थापना र पूर्वाधारको विकासमा समन्वय र सहभागिता, खानेपानी, सिँचाइ, मठ मन्दिर, गुम्बा निर्माण गरेको भनेको छ ।
विमानस्थलको पूर्वाधार विकास, पर्यटकीय पार्क निर्माण, कृषिको व्यवसायीकरण, बजारीकरण र यान्त्रिकीकरण, जिल्लाको उत्तरी र दक्षिणी भेगको भौगोलिक वातावरण अनुसार किवी, आलु, फलफूल, माछा, पशुपालन व्यवसायको लागि प्रवर्द्धनात्मक कार्यक्रम, दूध बिक्री गर्ने व्यावसायिक कुचकहरुलाई प्रदेश सरकारबाट प्रोत्साहन स्वरूप अनुदान दिएको उल्लेख गरेका छन् ।
जुनकाम तत्कालीन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं एमाले केन्द्रीय सदस्य तथा आउँदो निर्वाचनमा प्रतिनिधिसभाका उम्मेदवार कैलाश ढुङ्गेलले पनि आफूले गरेको भन्दै घोषणापत्रमा उल्लेख गरेका छन् ।
पौडेलले पनि यी काम आफूले गरेको भनेर घोषणा पत्रमा उल्लेख गरेका छन् । यद्दयपी उनीहरू एकै पार्टीका हुन् ।
आगामी योजना यस्तो छ ।
जनताको घर घर पुगेर भोट माग्न व्यस्त नेता पौडेलले आउँदो निर्वाचनमा जनताको पक्षमा कानुन निर्माण गर्ने, आर्थिक, सामाजिक सुशासन कायम गर्ने, दिगो पूर्वाधार विकास गर्ने, सामाजिक विकास र त्यसको रूपान्तरणको प्रक्रिया आगाडी बढाउने, शिक्षा र स्वास्थ्य सेवालाई सर्वसुलभ, गुणस्तरीय र सहज बनाउने, आर्थिक विकास र उत्पादन र उत्पादकत्व वृद्धि गर्ने घोषणापत्रमा उल्लेख गरेका छन् ।
त्यस्तै प्रविधिकरण, यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरण व्यापक र विस्तार गर्ने, वातावरणको संरक्षण, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण र अनुकूलन गर्ने, सामाजिक सुरक्षा भत्ता बढाउँदै जाने र प्राप्त गर्ने उमेर घटाउँदै जाने नीतिलाई स्थापित गर्ने समेत घोषणापत्रमा समेटिएको छ ।
घोषणापत्र हेर्नुहोस् ।