रामेछापबाट निर्वाचित सांसद ‘बिगुल’ले ‘प्रचण्ड’लाई भेटे, ‘मन्त्री पक्का भयो’

२५ मंसिर, रामेछाप । रामेछापबाट बागमती प्रदेश सांसदमा निर्वाचित तारानारायण श्रेष्ठ ‘बिगुल’ ले निर्वाचित भएपछि पहिलो पटक केन्द्रीय पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।
आइतबार आज प्रचण्डको निवास खुमलटार पुगेर नवनिर्वाचित सांसद श्रेष्ठले प्रचण्डलाई भेटेका हुन् । भेटमा श्रेष्ठ र प्रचण्डले एक अर्कामा बधाई तथा शुभकामना आदान प्रदान गरेको पार्टीका नेता एवं आदिवासी जनजाति महासङ्घका केन्द्रीय सदस्य राम तामाङले रामेछाप टाइम्सलाई जानकारी दिए ।
भेटपछि रामेछाप टाइम्ससंग संक्षिप्त कुराकानी गर्दै तामाङले भने ‘तारादाईको मन्त्री पक्का भयो । अध्यक्ष ज्यूले बचन दिनु भएको छ ।’
रामेछाप प्रदेश सभा ‘क’ बाट एमालेका उम्मेदवार शान्तिप्रसाद पौडेललाई हराउँदै निर्वाचित गठबन्धन तर्फका उम्मेदवार माओवादीका जिल्ला सचिव समेत रहेका श्रेष्ठ जिल्लाका नेता कार्यकर्ता सहित अध्यक्ष ‘प्रचण्ड’ लाई भेट्न पुगेका हुन् ।
यसअगाडि प्रदेश सभा ‘ख’ बाट निर्वाचित सांसद युवराज चौलागाइले निर्वाचित भए लगत्तै प्रचण्डलाई भेटेका थिए ।
जिल्लाबाट प्रत्यक्षमा प्रतिनिधिसभा तर्फ गठबन्धनबाट चुनाव लडेका नेपाली काँग्रेसका सभापति समेत रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) अत्यधिक मत सहित विजयी भएका छन् ।
त्यस्तै प्रदेश तर्फ प्रत्यक्षमा बिगुल र चौलागाई विजयी भएका छन् । भने, समानुपातिक तर्फ एमालेका जिल्ला अध्यक्ष समेत रहेका आनन्द श्रेष्ठ र सोही पार्टीकी प्रदेश कमिटी सदस्य माया कार्की मनोनीत भएका छन् ।
योसँगै रामेछापबाट प्रतिनिधिसभा र प्रदेशमा ५ जनाको नेतृत्व रहने भएको छ ।