समानुपातिकबाट प्रदेश सदस्य मनोनीत भएपछि श्रेष्ठसहितको टोली पुग्यो ओली निवास

२८ मंसिर, रामेछाप । नेकपा एमाले रामेछापका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ पदाधिकारीसहित पार्टी अध्यक्ष केपी शर्मा ओली निवास पुगेका छन् ।
मङ्गलवार उनीहरू अध्यक्ष ओलीलाई भेट्न ओली निवास बालकोट पुगेको पार्टी उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रकाश कुमार कार्कीले जानकारी दिए ।
उनका अनुसार भेटमा प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा नेकपा एमालेलाई लोकप्रिय मत प्राप्त गर्न कुशलता पूर्वक नेतृत्व गरेको र झापा ५ बाट विजयी भएकोमा ओलीलाई बधाई तथा शुभकामना दिएको कार्कीले बताए ।
जिल्ला कमिटी अध्यक्ष समेत रहेका श्रेष्ठ समानुपातिकबाट बागमती प्रदेश सभा सदस्यमा मनोनीत भएपछि पहिलो पटक भेट्न पुगेका हुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्नलाई अध्यक्ष श्रेष्ठ सहित सचिव पुरुषोत्तम कडरिया, उपसचिव कार्की, दिनेश सुवेदी लगाएका नेताहरू पुगेका हुन् ।
एमाले रामेछापले गत निर्वाचनमा समानुपातिक बाहेक सबै सिटमा पराजित भोगेको थियो । समानुपातिकमा एमाले रामेछापबाट अध्यक्ष समेत रहेका श्रेष्ठ र प्रदेश कमिटी सदस्य मायाँ कार्की मनोनीत भएका थिए ।