रास्वपाको बागमती प्रदेश सभापतिमा डा.लामिछाने, रामेछापबाट यी हुन प्रदेश सदस्यहरू ?

| फागुन ९, २०७९ मंगलबार

A A A
A A A

९ फागुन, रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती समितिले पूर्णता पाएको छ । गत आइतबार प्रदेश देश राजधानी हेटौँडा सम्पन्न भेलाले १३ जिल्लाका ७७ जना चयन गर्दै समितिलाई पूर्णता दिइएको (रास्वपा) जिल्ला संयोजक एवं प्रदेश समिति सदस्य रमेश रायमाझीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार रास्वपा बाग्मती प्रदेश समिति सभापतिमा डा.अच्युतम लामिछाने चयन भएका छन् । उनी आइतबार राति सम्पन्न निर्वाचनबाट प्रतिस्पर्धी दीपक बिकले भन्दा ३१ मत बढी पाउँदै निर्वाचित भएका हुन् ।

 

कुल २७९ मत खसेको मध्ये लामिछानेले १५४ मत प्राप्त गरे भने बिकले १२३ मत प्राप्त गरेका थिए । २ मत बदर भएको थियो ।

 

सोही राति सभापतिका आकाङ्क्षी ४ जनाबिच पहिलो चरणको निर्वाचन भएको थियो । पहिलो चरणको निर्वाचनमा दीपक बिकले १२३, डा.अच्युतम लामिछानेले ९२, जिता बरालले ४६ र दिनेश हुमागाईँले १७ मत प्राप्त गरेका थिए ।

 

सभापतिका प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा पहिलो र दोस्रो बढी मत ल्याउने उम्मेदवारहरू लामिछाने र विकबिच प्रतिस्पर्धा भएको थियो ।

 

प्रदेश समितिमा ८ जना महिला र ३ जना पुरुषसहित ११ जना प्रत्यक्षतर्फबाट निर्वाचित भएपछि प्रदेश समितिले पूर्णता पाएको थियो । 

 

यसअघि नै बागमती प्रदेशका ६६ वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रबाट एक–एक जनाका दरले जिल्ला समितिले सिफारिस गरेका ६६ जना प्रदेश समिति सदस्यमा चयन भएका थिए । ३ जना मनोनीत सदस्य सहित ८० जनाको प्रदेश समिति रहने रास्वपाले जनाएको छ ।

 

त्यस्तै रामेछापबाट जिल्ला उप–संयोजक तथा बागमती प्रदेश सदस्यमा बिपेश खत्री चयन भएका छन् । रास्वपामा रामेछापबाट समितिमा केही नयाँ अनुहार समेत समेटिएका छन् । 

 

रायमाझीका अनुसार खुल्ला तर्फ १४१ मत सहित विजयी भएकी रामेछापकी प्रमीला कँडेल प्रदेश समिति सदस्यमा चयन भएकी छन् ।