गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल भारी मतसहित विजयी

| फागुन २५, २०७९ बिहिबार

फाइल फोटो ।
A A A
A A A

२५ फागुन, रामेछाप । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । आज बिहीबार भएको चुनावमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

 

पौडेलले ३३ हजार ८०२ मत भार प्राप्त गर्दा नेम्वाङ्ले १५ हजार ५१८ मताभर प्राप्त गरे । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरूको कुल मताभर ४९ हजार ५९१ थियो । राष्ट्रपतिमा निर्वाचित हुनका लागि २६ हजार ३१५ मताभर आवश्यक पर्छ ।

 

पूर्व सभामुखसमेत रहेका पौडेल काङ्ग्रेससहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको समर्थनमा राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी भने मतदानमा सहभागी भएन ।

 

राष्ट्रपति चुनावमा सङ्घीय संसद्तर्फ ३३२ र प्रदेश सभा सदस्य ५५० गरी कुल ८८१ मतदाता कायम रहेकामा ५० जना मतदानमा उपस्थित भएनन् । सङ्घीय सांसदको मताभर ७९ र प्रदेश सभा सदस्यको मताभर ४८ छ ।

 

२००१ साल असोज २९ गते तनहुँको व्यसमा जन्मिएका पौडेल नेपाली काँग्रेस पार्टीबाट छ दशक देखि अनवरत प्रजातान्त्रिक आन्दोलनमा संलग्न छन् । उनीसँग ६ पटक सांसद, ५ पटक मन्त्री र एक पटक प्रतिनिधिसभाको सभामुख बनेको अनुभव छ । 

 

२०६६ सालमा प्रधानमन्त्री बन्नका लागि संसद्मा १७ पटकसम्म चुनावी प्रतिस्पर्धामा भाग लिए पनि जित हासिल नगरेका पौडेल राष्ट्रपतिमा भने पहिलो प्रयासमै सफल भएका हुन् ।