गेलु नाटिलामा गणेश बोहोरा एमालेमै फर्किए, पार्टी वडा कमिटीमा अध्यक्षमा ‘भूपाल’

| चैत २२, २०७९ बुधबार

A A A
A A A

२२ चैत, रामेछाप । मन्थली नगरपालिका ११ गेलुका नाटिलाका  गणेश बोहोरा एमालेमै फर्किएका छन् । बहुदल आएपछि नेपाल कम्युनिस्ट पार्टी एमालेमा सक्रिय भएर संगठन विस्तार लगायतको काम गरेका बोहोरा पछि नेपाली काँग्रेसमा प्रवेश गरेर सक्रिय थिए । 

 

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षका उम्मेदवार भएका बोहोरा मङ्गलवार एमालेको पछिल्लो अभियान ‘मिसनग्रासरुट’ कार्यक्रममा एमालेमै फर्किएका हुन् । बोहरा सहित मीनबहादुर बुढाथोकी, गणेश बहादुर थापा मगर, नेकपा माओवादी केन्द्रका ध्रुवबहादुर बुढाथोकी, भुलबहादुर मगर, तेज बहादुर मगर र रमेश मगर सहित एक दर्जन एमाले प्रवेश गरेको एमाले नेताहरूले बताएका छन् । 

 

उनीहरूलाई एमाले मन्थली नगर कमिटीका अध्यक्ष रामबाबु घिमिरे,जिल्ला पार्टी अध्यक्ष आनन्द श्रेष्ठसहित एमाले नेताहरूले स्वागत गरे । 

 

पार्टी प्रवेश गर्दै पूर्व शिक्षक समेत रहेका बोहोराले राजनीतिक पार्टीहरू जनताको समस्या भन्दा पनि आफ्नो समस्यामा केन्द्रित भएको उल्लेख गरे । उनले नेपाली काँग्रेसमा बसेर पनि जनताका परि मर्कालाई सम्बोधन गर्न आफूले नसकेको जस्तो लागेपछि एमालेमा प्रवेश गर्ने निधो गरेको बताए । 

 

मङ्गलवारै त्यहाँ कृष्णबहादुर पुलामी (भूपाल) को अध्यक्षता वडा कमिटी गठन पनि गरिएको छ । नवगठित कमिटीको उपाध्यक्षमा गणेश बहादुर थापा मगर, सचिव अनिल घिसिङ , उप–सचिव र तेजबहादुर चौहान, सहित ३१ सदस्यीय वडा कमिटी पुनर्गठन भएको गरिएको हो । 

 

त्यस्तै राष्ट्रिय युवा संघ वडाको पनि वडा कमिटी गठन भएको छ । मिलन मगरको अध्यक्षतामा युवा संघ र सम्झना बुढाथोकीको अध्यक्षमा (अनेम) संघ वडा कमिटीको गठन गरिएको नेकपा एमाले रामेछाप जनाएको छ ।