अनेरास्ववियुको स्थापना दिवस : रामेछापमा ३१ जना बिरामीलाई फलफूल र ७ बुँदे ज्ञापन पत्र बुझाएर मनाए

१ जेठ, रामेछाप । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रामेछापले विभिन्न ७ बुँदे ज्ञापन पत्र बुझाएको छ । साथै विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ ।
अनेरास्ववियुको ५९ औ स्थापना दिवसका सन्दर्भ पारेर सोमबार (आज) बिहानको रामेछाप सामुदायिक अस्पताल, तामाकोशी अस्पताल मन्थली, दीलश्री मेडिकल लगायतमा उपचाररत ३१ जना बिरामीलाई फलफूल वितरण गरिएको युवा संघ जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए ।
त्यस्तै सोही सन्दर्भ पारेर जिल्लामा भएको शैक्षिक विकृति र विद्यार्थी आन्दोलनबाट स्थापित मुद्धाहरुको कडा कार्यान्वयन गर्न भन्दै जिल्ला प्रशासन रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
पत्र बुझ्दै सहायक (प्रजिअ) घिमिरेले तत्काल यातायात व्यवसायीसँग बैठकमा सम्बन्धित मागको छलफल गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको अनेरास्ववियुका जिल्ला सचिव पुष्कर भट्टराईले जानकारी दिए ।
उनका अनुसार ७ बुँदे मागलाई शैक्षिक संस्थालाई आग्रह गर्ने र पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
अनेरास्ववियुले विद्यार्थीहरूलाई यातायात प्रयोग गरे बापत ४५ प्रतिशत छुटको कडा कार्यान्वयन गर्नु पर्ने, सरकारी विद्यालयहरूमा अनेक बहानामा लिइएको शुल्क अविलम्ब खारेज हुनु पर्ने, विद्यालय परिसर वरपर रहेका खाजा घर, होटेल, किराना पसलहरूमा सुर्तीजन्य पदार्थको बिक्री, वितरण रोक लगाउनु पर्ने माग गरेको छ ।
त्यस्तै सरकारबाट प्रदान गरिने छात्रवृत्तिको सूचना सबै शैक्षिक संस्थाहरूले वेवसाईडमा राखी छनौट प्रक्रिया स्वच्छ र निष्पक्ष बनाउनु पर्ने, हरेक शैक्षिक संस्थाहरूमा छात्राहरूको लागि सेनेटरी प्याड विसर्जन गर्ने स्थानको व्यवस्था गर्नु पर्ने, जिल्लाका सबै शैक्षिक संस्थाहरूमा प्रविधियुक्त शिक्षा सञ्चालन गरिनु पर्ने, इन्टरनेट र कम्प्युटरको अनिवार्य व्यवस्था हुनु पर्ने, शुद्ध खानेपानी, खेलमैदान र अपाङ्गमैत्री शौचालयको व्यवस्था हुनुपर्ने माग गरिएको ज्ञापपत्रमा उल्लेख गरिएको छ ।