माओवादीका नेता युवराज चौलागाईले भने ‘कम्युनिष्ट पार्टीको बैठक लाइभ गर्नु हुँदैन’

१७ साउन, रामेछाप । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज चौलागाईले पार्टीको केन्द्रीय कमिटीको बैठक पूरै प्रत्यक्ष प्रसारण गर्नु उपयुक्त नहुने बताएका छन् ।
माओवादी केन्द्रले यस अगाडि आज बुधवारदेखि सुरु हुने लागेको केन्द्रीय कमिटी बैठक सामाजिक सञ्जालबाट प्रत्यक्षे प्रसार गर्ने पदाधिकारी बैठकको निर्णय गरेको थियो । सो निर्णय आज देखि सुरु हुने केन्द्रीय समितिको पहिलो बैठकले पूरै बैठक लाइभ नगर्ने निर्णय गर्नु पर्ने बताएका हुन् ।
मंगलबार सामाजिक सञ्जालमा आफ्नो धारणा लेख्दै बागमती प्रदेशका सांसद समेत रहेका नेता चौलागाईले लेखेका छन् ‘कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक सार्वजनिक मिडियामा लाइभ हुनु हुँदैन । पार्टीको निर्णायक निकाय नभई आमसभा हो’ उनले भनेका छन् ‘उद्घाटन देखि समापन सम्म लाइभ हुन सक्छ । सिङ्गो बैठकको कारबाही लाइभ गर्ने नगर्ने भन्ने बारे पहिला बैठकले नै निर्णय गर्नु उपयुक्त हुन्छ।’
यस अगाडि नेपाली काँग्रेसले करिब एक वर्षपछि बसेको केन्द्रीय समिति बैठक पूरै सामाजिक सञ्जालबाट प्रत्यक्षे प्रसारण गरेको थियो ।
त्यसपछि कम्युनिष्ट पार्टीका बैठकहरू समेत प्रत्यक्ष प्रसारण हुने पर्ने टीकाटिप्पणीका बिच माओवादी केन्द्रले आजदेखि सुरु हुन लागेको बैठक प्रत्यक्षे प्रसारण गर्ने निर्णय गरेको थियो । तर, पार्टीकै नेताहरूले उक्त निर्णयको विरोध गरेका हुन् ।