प्रधानमन्त्री प्रचण्ड साउन ३२ गते रामेछापको दोरम्बा आउने

१९ साउन, रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो साउन ३२ गते बुधवार रामेछाप आउने भएका छन् । त्यसको लागि नेकपा माओवादी केन्द्र रामेछापका नेताहरूको एक टोलीले प्रधानमन्त्री दाहाललाई भेटेर निमन्त्रणा दिएको बागमती प्रदेशका सांसद युवराज चौलागाईले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘उहाँलाई भेटेर रामेछाप आउन भनेका हौं, प्रधानमन्त्रीबाट आउने बचन भएको छ ।’
३२ गते दोरम्बा ‘हत्या काण्ड’ स्मृति दिवसको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका आउन लागेका हुन् । ‘प्रचण्ड’ यस अगाडि पनि सोही दिवसमा दोरम्बा आएका थिए ।
द्वन्द्वकालमा घटेको ‘दोरम्बा हत्या काण्ड’ घटना भएको २० वर्ष लाग्दै छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ आउने भएसँगै स्मृति दिवसको तयारी अगाडि बढेको माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका प्रदेश सांसद चौलागाईको भनाई छ ।