मन्थली नगरपालिका सहित ६ स्थानीय तहमा दादुरा–रुबेला खोप लगाउन थालियो

| फागुन २१, २०८० सोमबार

A A A
A A A

२१ फागुन, रामेछाप । रामेछापका छ वटा स्थानीय तहमा सोमबार देखि दादुरा रुबेला खोप लगाइएको छ । पहिलो चरणमा रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकामा यही फागुन १३ देखि १५ गते सम्म खोप लगाइएपछि दोस्रो चरणमा जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका सहित छ वटा स्थानीय तहमा खोप लगाउन थालिएको हो । 

 

सोमबारदेखि पर्सी बुधवार सम्म ४८ वटा वडामा एकै साथ ९ महिना देखि ५ वर्ष मुनिका सबै र नियमित खोपमा छुटेका बालबालिकालाई यो खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापका कोल्ड चेन दीपेन्द्र नारायण श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । 

 

यस अगाडि नियमित खोप अभियानलाई असर नपर्ने गरी रामेछाप नगरपालिकाका एक हजार दुई सय ३ जना र लिखु तामाकोशी गाउँपालिकाका आठ सय दुई जनालाई खोप लगाइएको बताउँदै कोल्ड चेन श्रेष्ठले भने ‘बच्चाहरू छुटेका छैनन् । तर, लक्ष्य अनुसारको लगाउन सकिएन ।’

 

जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार यो अभियानमा रामेछाप नगरका एक हजार आठ सय २० जना र लिखु तामाकोशी गाउँपालिकाका एक हजार तीन सय तीन सय ३३ जना बालबालिकालाई खोप लगाउनु पर्ने थियो । तर, बालबालिका यहाँ नभएकाले टार्गेट अनुसारको खोप लगाउन नसकिएको प्रस्ट पारे ।

 

जिल्ला खोप समन्वय समिति रामेछापको आयोजनामा भइरहेको खोप अभियान कार्यक्रम अन्तर्गत सोमबार देखि मन्थली नगरपालिका सहित उमाकुण्ड, गोकुलगंगा, खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकाका सबै वडामा गरी सात हजार भन्दा बढी बालबालिकालाई यो खोप दिइने छ । 

 

खोप लगाउनको लागि २ सय ७ वटा खोप केन्द्रबाट २ सय ७ जना खोप कार्यकर्ता र चार सय १४ जना स्वास्थ्य स्वयंसेवकहरू परिचालन गरिएको छ । 

 

आइतबार मन्थली नगरपालिकाले पनि खोप अभियानलाई सफल पार्नको लागि जनप्रतिनिधि, प्रधानाध्यापक, शिक्षक, पत्रकार, संचारकर्मीहरुसहित अन्तरक्रिया गर्दै १४ वटै वडामा सबै तयारी पूरा भएकाले अभियान फलदायी हुने बताएको छ ।

 

आज पहिलो देखि नगरपालिकाको मन्थली मावि, तामाकोशी अङ्ग्रेजी विद्यालयमा खोप लगाइएको बताउँदै दोस्रो दिन नागकन्या मावि सहित विद्यार्थीको संख्या उल्लेख्य रहेका विद्यालयहरुसंग समन्वय गरेर खोप लगाइने योजना रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले प्रस्ट पारे । 

 

मन्थली नगरपालिकामा भएको अन्तर्क्रिया कार्यक्रम, तस्बिर मिलन घिमिरे रामेछाप टाइम्स