आजदेखि रामेछाप र लिखु तामाकोशीमा दादुरा–रूबेला खोप लगाउन सुरु

| फागुन १३, २०८० आइतबार

सांकेतिक तस्बिर ।
A A A
A A A

१३ फागुन, रामेछाप । आइतबार देखि जिल्लाको दुई स्थानीय तह रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकामा दादुरा–रूबेला खोप अभियान सुरु भएको छ । आ-आफ्ना नानी बाबूलाई खोप लगाउन समेत आग्रह गरिएको छ । 

 

४ फागुनमा भएको अन्तरक्रिया एवं अभिमुखीकरणमा दुई चरणमा खोप अभियान संचालन हुने जानकारी दिँदै पहिलो चरणमा आइतबार देखि मंगलबार सम्म रामेछाप नगरपालिकाका एक हजार आठ सय २० जना र लिखु तामाकोशी गाउँपालिकाका एक हजार तीन सय तीन सय ३३ जना नौं महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापका कोल्डचेन दीपेन्द्र नारायण श्रेष्ठले जानकारी दिए । 

 

जसअनुसार पहिलो चरणमा तीन हजार एक सय ५३ जना बालबालिकालाई खोल गाउन थालिएको हो । यी दुई पालिकामा सकिएपछि दोस्रो चरणमा जिल्लाका ६ स्थानीय तहमा खोप लगाउने स्वास्थ्य कार्यालय रामेछापको योजना छ । 

 

जिल्ला खोप समन्वय समिति रामेछापको आयोजनामा भएको खोप अभियान अभिमुखीकरण कार्यक्रमले दोस्रो चरणमा मन्थली नगरपालिका सहित उमाकुण्ड, गोकुलगंगा, खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकाका सबै वडामा एकै चरणमा यही फागुन २१, २२ र २३ गते खोप लगाउने निर्णय गरेको छ । 

 

स्वास्थ्य अधिकृत रमेश ज्ञवालीका अनुसार दोस्रो चरणमा उमाकुण्ड गाउँपालिकाका एक हजार दुई सय ३३, गोकुलगंगामा एक हजार दुई सय ७४, खाँडादेवीका एक हजार तीन सय १५, दोरम्बा शैलुङमा एक हजार एक सय ६५ जना र सुनापति गाउँपालिकामा सबै भन्दा कम आठ सय ३७ जना ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइँदै छ । 

 

त्यस्तै जिल्ला सदरमुकाम समेत रहेको सबै भन्दा धेरै वडा भएको (१४ वटा) मन्थली नगरपालिकामा सबै भन्दा धेरै दुई हजार सात सय १० जना  बालबालिकालाई यो खोप लगाइँदै छ । 

 

दुई चरणमा संचालन हुने यो खोप लगाउन छुटेका र लगाउनु पर्ने उमेर समूहका बालबालिकालाई नछुटाउन आग्रह गर्दै ११ हजार भन्दा बढी बालबालिकालाई दुई सय ७ वटा खोप केन्द्र बाट खोप लगाइने बताए । त्यसको लागि दुई सय ७ जना खोप कार्यकर्ता र चार सय १४ जना स्वास्थ्य स्वयंसेवकहरू परिचालन गरिने कोल्डचेन निरीक्षक श्रेष्ठले  जानकारी दिए 

 

यो अभियानमा लक्षित समूहलाई शत प्रतिशत पूरा हुने गरी खोप संचालन गर्ने र खोप लगाउन छुटेका, आंशिक खोप पाएका बालबालिकाहरूलाई समेत खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापका कोल्डचेन श्रेष्ठले जानकारी दिए । 

 

यो खोप ८५ प्रतिशत उपलब्धि मूलक देखिएकाले ढुक्क भएर खोप लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।