सेवा प्रवाहमा सुधार, बजार अनुगमनलाई तीव्रता दिएर काम गर्छु – सिडिओ पौडेल

| असोज ८, २०८१ मंगलबार

A A A
A A A

८ असोज, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले सेवा प्रवाहमा सुधार देखिने गरी काम गर्ने बताएका छन् । जिल्लाका सबै कार्यालयहरूको सेवा नागरिक मैत्री हुनु पर्ने बताउँदै (प्रजिअ) पौडेलले प्रशासनिक झन्झटलाई न्यूनीकरण गरिने उनको भनाई छ । 

 

आइतबार देखि जिल्लाको (प्रजिअ) जिम्मेवारीमा आएका पौडेलले यहाँका क्रियाशील पत्रकारहरुसंग भेटघाट गर्दै यस्तो धारणा राखेका हुन् । जिल्लाका पत्रकारहरूबाट ट्राफिक व्यवस्थापनमा सुधार, जर्जर सडकको मर्मत संभार, बजार अनुगमन प्रभावकारी बनाउनु पर्ने, सीमा विवाद समाधान गर्नुपर्ने, विपद्का हिसाबले जोखिम बस्तीलाई स्थानान्तरण गर्नुपर्ने, सार्वजनिक जग्गामा बजार बस्ने क्रम बढ्दो रहेकाले रोकिनु पर्ने, दलित सिफारिस र नागरिकतामा केही असहज अवस्था भोग्नु परेको, इलाका प्रशासन कार्यालयबाट सेवाग्राहीले सेवा लिन नसकेको, जलविद्युत आयोजनाहरूले सामाजिक उत्तरदायित्व निर्वाह नगरेका, व्यवसायीबाट खाद्यान्न, मासु, ग्यास र कपडामा सर्वसाधारण ठगिएका, जडान गरिएका (सिसीक्यामेरा) प्रभावकारी नभएको, सरकारी सवारी साधनको शुक्रबारे दुरुपयोग व्याप्त रहेको लगाएका विषयमा ध्यानाकर्षण गरेका थिए । 

पत्रकारहरूले यी कुराहरूमा सुधारको खाँचो रहेकोमा ध्यानाकर्षण गरेपछि (प्रअिज) पौडेलले केही काम तत्कालै सुरु गर्ने प्रतिबद्धता जनाए । यसअगाडि पनि रामेछापको सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा केही महिना जिम्मेवारी निर्वाह गरेका पौडेलले सशस्त्र प्रहरी समेत समावेश गराई चाडबाड लक्षित गस्ती ‘पेट्रोलिङ’को काम थालनी सोमबारबाट नै सुरु गरेको बताए । 

 

त्यस्तै जिल्लाको शान्ति सुरक्षा अमनचैन राख्ने विषयमा सुरक्षा अधिकारीहरू सँग छलफल गरेर कार्य योजना बनाई कार्यान्वयन गर्ने बताए । (सिडिओ) पौडेलले स्थानीय प्रशासनले सेवा प्रवाहमा सुधार देखिने गरी काम गर्ने बताउँदै प्रशासनले केही दिन भित्रै सर्वसाधारणलाई सेवा प्रवाह र नागरिक दायित्व विषयमा जनचेतनामूलक सूचना प्रवाह गर्ने, बजार अनुगमन कार्यलाई तीव्रता दिने र प्रभावकारी बनाइने बताए । 

 

सिडिओ पौडेलले नागरिकहरू सेवा लिन आउँदा हुने काम तत्कालै र नहुने काम भए सेवा ग्राहीलाई हुन नसक्ने कारण सहित समय मानै जानकारी गराउने कार्य गर्ने बताएका थिए ।