उमाकुण्डकी उपाध्यक्ष सुनुवार : काम गरेर जित्दै छिन जनताको मन्, कोसेली बोकेर पुग्छिन् सुत्केरीका घर-घर

| फागुन १९, २०८० शनिबार

A A A
A A A

१९ फागुन, रामेछाप । उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवार जनताको मन जित्ने गरी काम गर्ने एउटै ध्येयका साथ दौडधुप गरिरहेकी छिन् । जनप्रतिनिधि हुनु भन्दा पहिले केही गाउँमै घरायसी कामसँगै संघ संस्था र सामाजिक सेवामा पाइला अगाडि बढाएकी सुनुवारलाई आबद्ध पार्टी नेपाली काँग्रेसले २०७९ को निर्वाचनमा उपाध्यक्षको टिकट दिएर जितेपछि चुनाव अगाडि भोट माग्न पुगेका सातवटै वडाका जनतालाई विकास निर्माणका काम गरेर भोटको ऋण तिर्ने दायित्व पूरा गर्न भनेर दत्तचित्त छिन । 

 

वडा नं १ गुम्देल सहित कतिपय वडामा भोट माग्न मात्रै पुगेकी उनलाई त्यति बेला कमै ले चिन्थे । कतिपय मतदाताले त, भोट माग्न मात्रै आउने नेतालाई के भोट दिनु भनेर पनि मुखै भने । उम्मेदवार बन्दा सम्म पनि खासै राजनीति नेता भनेर उनलाई कमै ले चिन्थे । 

 

तीनै शब्दहरूको प्रहारलाई खपेर चुनाव जितेकी उपाध्यक्ष सुनुवारलाई पछिल्लो समय पालिका भित्रका सात वटै वडाका स्थानीयहरूले नजिकबाट चिन्ने मात्रै हैन सबैको प्रिय बन्न पुगेकी छिन् । वडा नं १ गुम्देलदेखि ७ नम्बर भुजी सम्मका ठाउँ ठाउँमा निर्माण भएका र निर्माणाधीन विकास निर्माणको अनुगमन, विभिन्न स्वास्थ्य शिविर, सुत्केरी महिलाहरूलाई घर घरमै कोसेली पात सहित पुगेर भेट्न थालेपछि जनप्रतिनिधि भनेको त यस्तो पो हुनु पर्छ त भन्नेहरूको संख्या बढ्दो छन् । 

 

पालिका भरी निर्माण भएका सबै पूर्वधार विकास, सडक, कुलो कुलेसो, मठमन्दिर देखि सबै निर्माणाधीन संरचनाको अनुगमन समितिकी संयोजक समेत रहेकी उपाध्यक्ष सुनुवारलाई जनताको घर दैलोमा पुगेर दीर्घकालीन र गुणस्तरीय विकासको मात्रैलाई बढवा दिनु आफ्नो प्रमुख जिम्मेवारीको रूपमा लिएको बत्ताउँछिन् । ‘यो ठाउँमा पुगिहालियो । म पदमा रहुन्जेल राम्रो गरौँ भन्ने धारणा लिएर काम गर्दै छु । सकेको राम्रो गर्छु । नसकेको सकिन भन्छु ।’

 

न्यायिक समिति मार्फत पालिका भरीका घटनाहरूलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेको स्मरण गर्दै मेलमिलापको मद्यमाबाट सबै समस्यालाई समाधानको पाटोमा अगाडि बढाइ रहेको बताउँछिन् । 

 

उपाध्यक्ष बनी हालियो छोडेर हिँड्ने । सकिन । जान्दिन भन्ने छुट पनि हुँदैन ।

 

 

सुरु-सुरुमा ऐन कानुनको पूर्ण ज्ञान नहुँदा र अनुभवको कमीका कारण समस्या भएपछि अहिले सबैसँग मिलेर काम गर्दा सहज भइरहेको भन्दै ‘सिकेर कहिले नसकिने रहेछ । गर्दै जाने । सिक्दै जाने हो भनिन् ।’

 

ऐन कानूनले दिएका जिम्मेवारीलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै राजनीतिक छाया समेत नपारी सबैको प्रतिनिधिको रूपमा काम गर्न लागि परेको उनको दाबी छ । 

 

जिल्लाकै दुर्गम पालिकाको रूपमा परिचित गाउँपालिकाको उपाध्यक्ष बनी हालियो छोडेर हिँड्ने । सकिन । जान्दिन भन्ने छुट पनि हुँदैन । तर, महिलाहरूको अवस्था सुधार गर्न सकिन्छ कि भनेर केही योजना सहित लागेको बताइन् । 

 

सोही योजना सहित चालु आर्थिक वर्षमा बजेट नै व्यवस्थापन गरेर उनी पालिका भित्रका सात वटै वडाका सुत्केरीहरूलाई भेट्न घर घरै पुग्दै आएकी छिन् । 

 

गाउँपालिकाको स्वास्थ्य शाखा मार्फत चालु आर्थिक वर्ष २०८०/०८१ बाट सुरु गरेको ‘उपाध्यक्षसँग सुत्केरी भेट’ कार्यक्रमले त झन् उनलाई पालिका भित्रका महिलाहरूको अवस्था, पारिवारिक अवस्था बुझ्न धेरै मद्दत पुगेको उनको विश्वास छ । ‘यसले त सबै घर परिवार । उनीहरूको आर्थिक अवस्था सबै बुझ्न सजिलो भएको छ । कतिपयता राम्रो खाना खान नसक्ने पनि देखेको छु । त्यो देख्दा हामीले सुरुवात गरेको कार्यक्रम प्रभावकारी नै भएको जस्तो लाग्छ ।’

 

चालु आर्थिक वर्षको ७ महिना (फागुन ७ गते) सम्म सात वडाका ५६ जना सुत्केरी महिलाहरूलाई घर घरमै पुगेर सुत्केरी कोसेली प्रदान गरिसकेको सुनाइन् । सुत्केरी कोसेली प्रदान गर्न गाउँपालिका र स्वास्थ्य शाखाले केही सूचकहरू निर्धारण गरेको छ । सूचक पूरा गरी सुत्केरी भएकाहरूलाई लोकल अण्डा, चामल, हर्लिस्, मौसम अनुसारको फलफूल, गेडागुडी सहित ३५ सय बराबरको कोसेली प्रदान गर्दै आएको छ । 

 

मातृ शिशु मृत्यु दर घटाउने मुख्य उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमले उपाध्यक्षलाई जनतासँग भलाकुसारी गर्ने समय पनि मिलाएको छ भने गर्भवती महिलाहरूले समयमा स्वास्थ्य जाँच गराउने, अस्पतालमा सुत्केरी हुने सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ ।