मतदातालाई धन्यवाद दिँदै एमाले रामेछापको आरोप ‘गठबन्धनले चुनाव जित्न भ्रम, षडयन्त्र र आचारसंहिता विपरीतका हर्कत मात्रै गर्यो’

१२ मंसिर, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य दुवै गुमाएपछि गठबन्धनलाई सिद्धान्त विहीन जगमा खडा गरिएको स्वार्थ केन्द्रित गठबन्धनको संज्ञा दिएको छ । साथै गठबन्धनले चुनाव जित्न अनेकौँ भ्रम, षडयन्त्र र निर्वाचन आचारसंहिता विपरीतका हर्कत गरेको समेत आरोप लगाएको छ ।
आइतबार जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले ‘मतदातालाई धन्यवाद पत्र’ जारी गर्दै यस्तो उल्लेख गरेका हुन् । जारी पत्रमा लेखिएको छ ‘सिद्धान्त विहीन जगमा खडा गरिएको स्वार्थ केन्द्रित गठबन्धनको अनेकौँ भ्रम, षडयन्त्र र निर्वाचन आचारसंहिता विपरीतका हर्कतका बाबजुद मतदाताहरूले समानुपातिक तर्फको मतमा प्रतिनिधि सभा प्रदेश सभा दुवैमा विश्वास र भरोसादि नेकपा एमालेलाई पहिलो राजनीतिक दलको हैसियत प्रदान गरेको मतदाता कृतज्ञता सहित हार्दिक बधाई छ ।’
जिल्लामा नेकपा एमालेले समानुपातिक तर्फ संघमा २८ हजार १५० र प्रदेश तर्फ २८ हजार ५०४ मत पाएको छ ।
प्रतिनिधि र प्रदेश सभाका गठबन्धनका उम्मेदवारहरूलाई बधाई र शुभकामना समेत दिएको एमालेले जिल्लाको समग्र विकास र उन्नतिका निम्ति हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता गरेको छ ।
जारी पत्रमा भनिएको छ ‘साथै राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, समाजको प्रगतिशील रूपान्तरण, सामाजिक न्याय सहितको राज्य व्यवस्था र सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्ने अभियानमा निरन्तर लागिरहने सङ्कल्प गर्दछ ।’
पत्र हेर्नुहोस ।