रास्वपा लक्षित एसका नेता पौडेलको तर्क : विदेशमा श्रम गरी रहेका नेपालीलाई स्वदेश फर्क भन्नुमा के रहस्य छ ?
२० साउन, रामेछाप । नेकपा एकीकृत समाजवादी पार्टी (एस) पोलिटब्युरो सदस्य एवं पूर्व सांसद देवशंकर पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विदेशबाट नेपाली फर्काउनु पर्छ भन्नुमा कुनै रहस्य लुकेको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् । हरेक क्षेत्रमा इमानदारिता र नैतिकता हुनु पर्नेमा उनको जोड् छ ।
पार्टी निकट पत्रकार संगठन समाजवादी प्रेस रामेछापको पहिलो भेलालाई सम्बोधन गर्दै शनिवार नेता पौडेलले रास्वपा प्रति लक्षित गर्दै भने ‘अहिले कुनै दलहरूले विदेशमा रहेका नेपालीलाई विभिन्न बहानामा नेपाल फर्काउने हल्ला गर्दै छन् । त्यसमा के रहस्य लुकेको छ ? नत्र उहिले एक छाक सिस्नुमा एक मुठ्ठी पीठो समेत मागेर खानु पर्ने जनतालाई यत्तिको राम्रो खान, लाउन सक्ने बनेका छन् । अनि के स्वार्थ लुकाएर स्वदेश फर्क भनेको हो ?
पूर्व सांसद समेत रहेका नेता पौडेलले रेमिट्यान्ले देश चलाए लुटेर खाए, बाकसमा फर्किए जस्ता सेन्टिमेन्टको भ्रम छरिएकोमा समेत उनले प्रश्न गर्दै यस्ता सेन्टिमेन्ट छर्नु भन्दा मृत्यु जहाँ जे गर्दा पनि रोक्न नसकिने तर्क गरे । उनले गाउँमा भिरबाट लडेकाको गन्ती हुँदैन । पशुपतिमा लगिँदैन । बाकसमा पोको पारिँदैन अनि मृत्यु यहाँ हुँदै नहुने जस्तो भ्रम छर्ने त्यो राम्रो हैन भने ।
पार्टी जिल्ला इन्चार्ज समेत रहेका नेता पौडेलले हरेक ठाउँमा संस्कार, चरित्र र भावना स्वच्छताको खाँचो छ भने । जिल्लाका पुराना र परिचित छवि भएका नेता पौडेलले अहिले राजनीतिमा संस्कार, इमानदारिता, नैतिकता र संस्कारको नरहेकोमा दुखेसो पोखे । उनले यी सबै चिजको खाँचो राजनीतिमा छ भने ।
पार्टी निकट पत्रकारहरूलाई आवाज विहीनहरूको आवाज बन्न सुझाउँदै उनले आफू अर्को जुनी पाएमा पत्रकारिता गर्न पाउँ भने ।
