रामेछाप कांग्रेसः दुवै क्षेत्रीय समितिको ‘आन्तरिक विशेष अभियान’ भव्य रूपमा सकियो, आज जिल्ला कार्यसमिति बैठक
२८ साउन, रामेछाप । नेपाली काँग्रेस रामेछापका दुवै क्षेत्रीय कार्य समितिले पार्टीको ‘आन्तिरीक विशेष अभियान’ सम्पन्न गरेका छन् । गएको शुक्रवार र शनिवार छुट्टा–छुटै कार्यक्रमको योजना गरी प्रदेश क्षेत्रीय समितिले पार्टीको आन्तरिक विशेष अभियान सकेका हुन् ।
जसअनुसार शुक्रवार क्षेत्र नं १ (क) ले लिखु तामाकोशी गाउँपालिकाको खिम्तीमा सभापति निरोज खड्काको सभापतित्वमा र क्षेत्र नं २ (ख) का सभापति राजेशकुमार श्रेष्ठको सभापतित्वमा शनिवार पार्टी कार्यालयमा मन्थलीमा कार्यक्रम गरी पार्टीको ‘आन्तरिक विशेष अभियान’ भव्य रूपमा सम्पन्न गरेको दुवै क्षेत्रीय समितिले जनाएका छन् ।
आफूहरूको यो अभियान भव्य रूपमा सम्पन्न भएको क्षेत्र नं १ का सभापति निरोज खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार वडा कार्यसमिति देखि सबै तहका जनप्रतिनिधि पार्टीका नेता कार्यकर्ता तथा भातृ संस्था, शुभेच्छुक सङ्घसंस्थाका प्रमुख एव प्रतिनिधिहरूको उपस्थितिमा पार्टी भित्रको विविध विषयमा ‘घनिभूत’ छलफल भएको छ । सभापति खड्काले भने ‘सङ्गठनलाई थप चुस्त र प्रभावकारी ढङ्गले एकताबद्ध गर्दै अगाडि लैजाने र पाटी संगठन सँगै जनजीविकाका सवालमा पार्टीका सबै तहका नेता कार्यकर्तालाई जोड्ने र केन्द्रीय परिपत्रलाई अक्षरंस पालना गर्ने निर्णय गर्दै बैठक सकियो।’

अधिकांश नेताले पार्टी भित्र गुट उपगुट मौलाएको र त्यो गुट आगामी महाधिवेशनमा समेत असर पर्ने भएकाले गुटको अन्त्य गर्दै पार्टीलाई एक बनाएर लानु पर्नेमा जोड् दिनु पर्नेमा धारणा राखेको सभापति खड्काको भनाई छ ।
दुई छुट्टा छुटै भएको विशेष छलफलमा पार्टीका केन्द्रीय सदस्य डा.चन्द्र मोहन यादव सहितको उपस्थितिमा भएको उक्त विशेष छलफलमा संघीय सांसद समेत रहेका जिल्ला पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निवर्तमान पार्टी सभापति लवश्री न्यौपाने, नेता झपट भण्डारी, युवराज भट्टराई, रत्न कार्की, गजेन्द्र कार्की, लिखु तामाकोशी गाउँपालिका अध्यक्ष समेत रहेका नेता केशव महत, गोकुलगंगा गाउँपालिका अध्यक्ष समेत रहेका युवा नेता दिनेश खड्का लगायतका दर्जन भन्दा बढी नेताहरूले पार्टीमा देखिएको गुट्को अन्त्य हुनु पर्नेमा जोड् दिएका थिए ।
त्यसको लागि नेतृत्व तहका नेताहरूले समेत विशेष भूमिका खेल्नु पर्नेमा नेता कार्यकर्ताले जोड् दिएका थिए ।
शनिवार सम्म दुई क्षेत्रीय समितिको विशेष अभियान सकिएसँगै आज आइतबार काँग्रेस जिल्ला कार्य समितिको बैठक बस्दै छ । यो बैठकमा पनि पार्टीको विशेष आन्तरिक अभियान बारेमा घनिभूत छलफलको तयारी रहेको बताइएको छ ।
सम्मान पनि गरे
यसैबिच कांग्रेसको उक्त ‘आन्तरिक विशेष अभियानमा’ दुबै प्रदेश सभा कार्यसमितिले यस अगाडि नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको केन्द्रीय समितिमा मनोनित भएका सदस्यहरुलाई सम्मान पनि गरेका छन् ।
