समन्वय प्रमुख घतानीले भने ‘विकास निर्माणमा मिलोमत्तो गर्ने इन्जिनियर र कर्मचारीलाई सिधै अख्तियारमा मुद्दा हाल्छौँ’

२० भदौ, रामेछाप । जिल्लाको विकास र समृद्धिको लागि सबै राजनीतिक दल र जिम्मेवार निकाय एक ढिक्का रहेको जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले सुनाएका छन् । अहिलेका जनप्रतिनिधिले विकासमा नयाँ पन दिन नसक्ने हो भने जनताको भरोसा नरहने उनको भनाई छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापको मन्थली स्थित कार्यालयमा एक भेटघाटमा बोल्दै समन्वय प्रमुख घतानीले यस्तो बताएका छन् । उनले भने ‘दोलखामा जिल्लाको विकास र समृद्धिको लागि सबै राजनीतिक दल, पत्रकार, स्थानीय तह, सरकारी तथा गैरसरकारी कार्यालय एक ढिक्का छन् । समन्वय समितिमा एक टिम छौँ । त्यो टिमले संविधानले दिएको अधिकारलाई टेकेर काम गर्दै छौँ ।’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अब रामेछाप सहित दोलखा जिल्लामा समेत कार्य क्षेत्र बनेको उल्लेख गर्दै परियोजनाले यी दुई जिल्लाको आय स्रोत बढाउन सक्दो भूमिका खेल्न समेत जोड् दिए । दोलखामा परियोजना सञ्चालनको लागि जुनसुकै सहयोग गर्न तयार रहेको बचनबद्ध गर्दै प्रमुख घतानीले समुचित विकास गर्न सबैले काम गर्न जरुरी रहेको उल्लेख गरे । ‘हामी गफ मात्रै गर्छौँ । काम कोही गर्दैनौँ । अब गफ हैन काम गरेर देशलाई समृद्धिको बाटोमा लागू पर्छ । नत्र जनताको भरोसा टुट्छ ।’
फरक प्रसंगमा बोल्दै छिमेकी जिल्ला समन्वय प्रमुख घतानीले आउँदो २५ गते दोलखा जिल्लाका सबै प्राविधिक, इन्जिनियरहरुसंग छलफल गर्न लागेको सुनाए । ‘हामीले २५ गते सबै प्राविधिक, इन्जिनियरहरुसंग छलफल गर्दै छौँ । यो छलफलबाट हामीले विकासमा उनीहरूको आवाज र हामीले खेल्नु पर्ने भूमिका बारेमा प्रस्ट पारेर आगामी दिनमा विकास निर्माणको क्रममा भएका अनियमितता र कमजोरीलाई ठाउँको ठाउँ उपचार गर्ने हाम्रो निर्णय छ’ नेकपा माओवादी केन्द्रका पुराना नेता समेत रहेका घतानीले भने ‘यो वर्ष हामीले सुझाव इन्जिनियरहरूलाई र हाकिमलाई सुझाव दियो, सम्झायौँ । एस्एम्एस पठायौ । अब त्यो सिधै ठिक या बेठिक भन्ने बनाउँछौँ । र, गलत भएको रहेछ भने सिधै अख्तियारमा मुद्दा हाल्छौँ ।’
उनले दोलखाको विकास निर्माणमा स्थानीय तहहरूले सबैसँग मिलेर भूमिका निर्वाह गरेको बताए ।