रामेछापमा बोलेरो दुर्घटनामा परेका ५ जनालाई राति नै काठमाडौं पठाइयोः वृद्ध महिलाको मृत्यु, दुई बालबालिकासहित ९ घाइते (नामावलीसहित)

| असार २७, २०८१ बुधबार

A A A
A A A

२६ असार, रामेछाप । मंगलबार साँझ मन्थलीको कल्लेरीमा भएको बोलेरो दुर्घटनामा परेका सबैको परिचय खुलेको छ । दुर्घटनामा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने केही गम्भीरसहित ९ जना घाइते भएका छन् । घाइते ५ जनालाई राति नै काठमाडौं पठाइएको छ । 

 

मन्थली नगरपालिका वडा नं ७ भटौलीको कल्लेरीमा मन्थली-१ बाट खाँडादेवी गाउँपालिका ९ पिङ्खुरी तर्फ यात्रु लिएर जाँदै गरेको प्रदेश ३-०१-०२३ च ३९०९ नम्बरको डबल क्याब बोलेरो अचानक ब्रेक फेल भई अनियन्त्रित भएर दुर्घटना हुँदा मन्थली–७ भटौलीकी ६५ वर्षीय माया बि.क.को घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाकारी दिएको हो ।

 

दुर्घटनामा घाइते ५ जनालाई मन्थली अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारको लागी काठमाडौँ रिफर गरिएको छ । 

 

गम्भीर चोट लागेर काठमाडौँ रेफर गरिएकामा खाँडादेवी गाउँपालिका ९ बस्ने ७० वर्षीय नर माया बि.क, ७० वर्षीय हैटे तामाङ, २८ वर्षीय रूपक तामाङ, ४० वर्षीय उषा भण्डारी र उनका ९ वर्षीय छोरो डेबिट भण्डारी रहेका छन् । उनीहरूको शरीरको भित्री भागमा चोट देखिएको छ । साथै टाउकोमा गम्भीर चोट, ढाडमा, बायाँ हातमा भित्री र नाकमा, दाहिने कम्मरमा चोट लगेको जिल्ला प्रहरी कार्यालय रामेछाप प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप कुमार सिंहले बताए । 

 

दुर्घटनामा सामान्य घाइते अन्य ५ जना मन्थली अस्पतालमा उपचार गराइरहेका छन् । सडकबाट अन्दाजी २०० मिटर तल खस्दा बोलेरो चालक खाँडादेवी–९ का ४७ वर्षीय बाबुराम तामाङ, सोही ठाउँका ७० वर्षीय मंगले कामी, ७० वर्षीय दुर्गाबहादुर तामाङ, उनकी ५ वर्षकी नातिनी अन्जना तामाङ र ४२ वर्षीय नरेन्द्र तामाङ मन्थली अस्पतालमा उपचार गराइरहेका हुन् । 

 

मगलेको शरीरको विभिन्न भागमा चोट लागेको छ । त्यस्तै दुर्गा बा. को बायाँ घुँडा र नाकमा, उनकी नातिनीको निधारमा र नरेन्द्रको च्यापुमा चोट लागेको छ । उनीहरू सबैको स्वास्थ्य अवस्था मध्यम रहेको डिएसपी सिंहले बताए ।